वैकुण्ठ चतुर्दशी पर्व मनाइयो

काठमाडौं।प्रत्येक वर्ष कार्तिक शुक्ल चतुर्दशीका दिन मनाइने वैकुण्ठ चतुर्दशी पर्व आज स्नान, दान, जप, ध्यान गरी मनाइयो।

वैकुण्ठ चतुर्दशीमा नदीमा स्नान गरी जप, ध्यान एवं दान गर्दा पुण्य पाइने विश्वास छ । वैकुण्ठ चर्तुदशीमा भगवान् विष्णुको पूजा गरी रातमा जागरण गर्ने गरिन्छ । चर्तुदशीको सम्बन्ध शिव, विष्णु दुवैसित रहेको मानिन्छ । शिवसँग सम्बन्ध भएकोलाई शिव वैकुण्ठ र विष्णुसित सम्बन्ध भएकोलाई विष्णु वैकुण्ठ भनिन्छ । शिवपूजाको लागि अरुणोदयव्यापी चर्तुदशी उत्तम मानिएको छ भने उपवास (व्रत) का लागि अहोरात्र (रातदिन) को अरुणोदय चर्तुदशीले युक्त दिनलाई उपयुक्त मानिएको छ ।

भगवान् विष्णुका धेरै नाममध्ये एक नाम वैकुण्ठ पनि हो । कुण्ठा नभएको ज्ञान वा स्थान जसको आश्रय छ त्यसलाई वैकुण्ठ भनिन्छ । यसैगरी जीवनलाई नियन्त्रण गर्ने र ज्ञान दिनेरुपमा जसको प्रसिद्धि छ त्यसलाई पनि वैकुण्ठ भनिन्छ । त्यस्तै महाभारतको शान्ति पर्वमा आफ्ना बहुसङ्ख्यक नामको व्युत्पति भगवान् स्वयंले बताउनुभएको छ ।

गतिनिरोधक गर्नेलाई विकुण्ठ भनिन्छ र त्यो सम्पादन गर्नेलाई वैकुण्ठ भनिन्छ । जगत् सृष्टि गर्ने क्रममा भगवान्ले पृथ्वीलाई जलसित आकाशलाई वायुसित र वायुलाई तेजका साथ अविचल हुने गरी मिलाएकाले उहाँको नाम वैकुण्ठ रहेको भन्ने पौराणिक मान्यता पनि छ ।
वैकुण्ठ चतुर्दशीमा भगवान् शिव र विष्णुबीच मेल हुने पुराणमा उल्लेख छ। यसैले यो दिनलाई हरि (विष्णु) र हर (शिव) एक हुने दिन भनिएको छ। यो दिन विशेषगरी भगवान् शिव र विष्णुको विधिपूर्वक पूजाआराधना गर्नाले मृत्युपछि वैकुण्ठलोक प्राप्त हुने बताइएको छ।

यसै दिन कै सुब्बाले (वैकुण्ठ चतुर्दशीका) दिन चलाउँदै आउनुभएको पशुपतिनाथ महास्नान  भएको छ। मल्लकालीन समयमा आफ्नो जायजेथा परोपकार तथा धर्मकर्ममा समर्पण गर्ने दाताका रूपमा मकै सुब्बाको इतिहासमा नाम छ। यसै मौसममा धर्तीमा उब्जेका सबै अनाज, फलफूल र कन्दमूलसहित प्रशस्त पञ्चामृतद्वारा महास्नान गर्ने यो पल्टको पालो मकै सुब्बाका सन्तति बत्तीसपुतली निवासी राजेश्वर जोशीको परेको छ।

Comments are closed.