काठमाडौँ — नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानले सोमबार वरिष्ठ सांज्ञीतिज्ञ, प्रज्ञा–प्रतिष्ठानका प्रथम कुलपति एवम् राष्ट्रगानका संगीतकार अम्बर गुरुङको ८६औँ जन्मजयन्तीका अवसरमा सांगीतिक कार्यक्रम गरेको छ ।
कार्यक्रममा नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति निशा शर्माले संगीतकार गुरुङको योगदानलाई भुल्न नहुने बताइन् । ‘उहाँले देख्नुभएको नेपाली अर्केष्ट्राको सपनालाई साकार पार्न प्रज्ञा–प्रतिष्ठान प्रयासरत छ, सोही अनुसार हामी गतिविधि गरिरहेका छौँ,’ उनले भनिन् ।
नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले संगीतकार गुरुङ बहुआयामिक व्यक्तित्व भएको बताए । ‘गुरुङलाई राष्ट्रगानको संगीतकार मात्र भन्दा योगदान ओझेलमा पर्न सक्छ । उहाँ संगीतको ऋषिमुनि हुनुहुन्छ,’ उनले भने ।
कार्यक्रममा वरिष्ठ गायिका संगीता प्रधानले ‘कति सम्हालुँ चोटहरु…’, वरिष्ठ गायिका कुन्ती मोक्तानले ‘उकाली चढ्दा पसिना पुछ्ने…’ र विष्णु अधिकारीले ‘मेरो यो गीतमा जुन मुर्छना…’ बोलका गीतहरु गाएका थिए ।
सो अवसरमा वरिष्ठ संगीतकार दीपकजङ्गम, वरिष्ठ गीतकार श्यामप्रकाश तमोट, संगीतकार अमूल कार्की ढलीलगायतले आफ्नो भनाइ राखेका थिए।
कार्यक्रममा प्रज्ञा–प्रतिष्ठानका परिषद् सदस्यहरु, सभासदस्यहरु, वरिष्ठ संगीत तथा नृत्य साधकहरुलगायत संगीत नाट्य विधासँग सम्बन्धित विभिन्न सङ्घसंस्थाका पदाधिकारी सहभागी थिए ।