बालागुरु षडानन्दको १८८औँ जयन्ती सम्पन्न

काठमाडौँ, मङ्सिर । समाज सुधारक बालागुरु षडानन्दको १८८औँ जयन्तीका अवसरमा विभिन्न व्यक्ति र संस्थालाई पुरस्कृत तथा सम्मानित गरिएको छ ।
१५औँ स्थापना दिवसका अवसरमा आबाल ब्रह्मचारी षडानन्द प्रतिष्ठान काठमाडौँद्वारा सोमबार आयोजित पुरस्कार अर्पण समारोहमा षडानन्द राष्ट्रिय पुरस्कार, राष्ट्रिय समाज सेवा पुरस्कार, षडानन्द क्षेत्रीय पुरस्कार क्रमशः वनस्पतिविज्ञ डा। तीर्थबहादुर श्रेष्ठ (ललितपुर), परोपकार संस्था (काठमाडौँ) र दुर्गाप्रसाद अधिकारी (भक्तपुर)लाई अर्पण गरियो । पुरस्कारको राशि क्रमशः एक लाख, एकाउन्न हजार र एकाउन्न हजार रुपियाँ रहेको छ । परोपकार संस्थाका अध्यक्ष हितकरवीरसिंह कंसाकारले पुरस्कार ग्रहण गर्नुभयो ।
त्यसैगरी सोमप्रसाद खतिवडालाई ३५ हजार रुपियाँ राशिसहितको विद्वत् वृत्ति सम्मानबाट सम्मानित गरियो । सो अवसरमा प्रतिष्ठानलाई आर्थिक सहयोग गर्नुहुने प्रा।डा। बद्री विशाल भट्टराई (भक्तपुर), इन्दुकुमारी घले गुरुङ (काठमाडौँ), डा. रूपनारायण श्रेष्ठ (काठमाडौँ), वीरबहादुर बस्नेत (मोरङ)लाई दाता सम्मान प्रदान गरियो । वरिष्ठ शिक्षाविद् प्रा.डा. सुरेशराज आचार्य र प्रतिष्ठानका अध्यक्ष प्रा. चेतोनाथ गौतमले उहाँहरूलाई पुरस्कार तथा सम्मान प्रदान गर्नुभयो ।
समारोहमा प्रा.डा. सोमप्रसाद खतिवडाद्वारा लिखित ‘ब्रह्मचारी षडानन्दले प्रारम्भ गरेका सांस्कृतिक परम्परा’ कृतिको लोकार्पण समेत गरिएको थियो । सो अवसरमा प्राडा सुरेशराज आचार्य, पुरस्कृत व्यक्तिहरू डा. तीर्थबहादुर श्रेष्ठ, दुर्गाप्रसाद अधिकारी, हितकरवीरसिंह कंसाकारलगायतले शिक्षासेवी बालागुरु षडानन्दको व्यक्तित्व र उहाँले समाज सुधार तथा शिक्षा क्षेत्रमा पु¥याउनुभएको योगदानबारे चर्चा गर्नुभएको थियो ।

 

Comments are closed.