चीनले २०२७ मा ताइवानमाथि आक्रमण गर्ने, ताइवानले युद्धको तयारी गर्दै

काठमाडौं । ताइवानका विदेशमन्त्री जोसेफ वुले चीनले सन् २०२७ सम्ममा आफ्नो देशमाथि आक्रमण गर्ने दाबी गरेका छन् । चीनको लगातारको धम्कीका बीच वुले शनिबार एक अन्तर्वार्ता दिएका थिए ।

यस क्रममा उनले भने, ‘हामीले चिनियाँ सेनाको धम्कीलाई गम्भीरतापूर्वक लिइरहेका छौं। हामीमा २०२७ त्यो वर्ष हुनेछ जब हामीमाथि आक्रमण हुन सक्छ भन्ने भावना छ। ताइवान यस लडाइको लागि तयारी गर्दैछ।’

उनले आफू जस्तै विचारधारा भएका देशले मात्रै ताइवानलाई चीनको आक्रमणबाट बचाउन सक्ने बताए । यहाँ आफ्नै जस्तो विचारधारा भन्नाले उनको मतलब बेलायत र अमेरिका हो। जसले ताइवानलाई सैन्य सहयोग गर्दै आएका छन् ।

ताइवानका विदेशमन्त्रीको यो भनाइ त्यतिबेला आएको हो जब चिनियाँ विदेशमन्त्री किन गाङले शुक्रबार ताइवान मामिलामा आगोसँग खेल्नेहरूले आफूलाई मात्र जलाउने बताएका थिए। चीनले आफ्नो सुरक्षा र सार्वभौमसत्तामा खलल पुग्ने कुनै पनि कुरालाई कहिल्यै स्वीकार नगर्ने उनको भनाइ छ ।

यसै क्रममा ताइवानका विदेशमन्त्री अघि अमेरिकी गुप्तचर सीआईएका निर्देशक विलियम बायर्नले पनि चिनियाँ राष्ट्रपति सी जिनपिङले देशको सेनालाई सन् २०२७ सम्ममा ताइवान कब्जा गर्न तयार रहन आदेश दिएको दाबी गरेका थिए ।

पछिल्लो दिन ताइवानका राष्ट्रपतिको अमेरिका भ्रमणबाट आक्रोशित चीनले युद्ध अभ्यास सुरु गरेको थियो । चीनको युद्धाभ्यास ३ दिनसम्म जारी रह्यो । अभ्यासका क्रममा चीनले ७१ वटा लडाकु विमान र ४५ वटा युद्धपोतसहित ताइवानलाई घेरेको थियो । यो सम्पूर्ण अपरेशनलाई ज्वाइन्ट स्वर्ड नाम दिइएको थियो।

अमेरिकाले सन् १९७९ मा चीनसँगको सम्बन्ध पुनर्स्थापित गर्दै ताइवानसँगको कूटनीतिक सम्बन्ध तोडेको थियो । तर, चीनको आपत्तिका बाबजुद अमेरिकाले ताइवानलाई हतियार आपूर्ति गर्न जारी राख्यो । अमेरिकाले दशकौंदेखि एक चीन नीतिलाई समर्थन गर्दै आएको छ, तर ताइवानको मुद्दामा अस्पष्ट नीति अपनाएको छ।

राष्ट्रपति जो बाइडेन अहिलेको लागि यस नीतिबाट बाहिर निस्किरहेको देखिन्छ। चीनले ताइवानमाथि हमला गरे अमेरिकाले उसलाई बचाउने छ भनी उनले धेरै पटक भनेका छन्। बाइडेनले हतियार बिक्री जारी राख्दै ताइवानसँग अमेरिकी अधिकारीहरूको अन्तरक्रिया बढाएका छन् ।