अमेरिकी सिनेटका बहुमत नेता चक सुमर र अन्य वरिष्ठ सांसदहरूको आसन्न चीन भ्रमणको बेइजिङले स्वागत गर्ने जनाएको छ।
उक्त भ्रमणले चीनका बारेमा उनीहरूको ‘बुझाइ’ बढ्ने आशा गरिएको बेइजिङले बताएको छ।
हालैका वर्षमा दुवै मुलुकबीच उच्चस्तरमा रहेको सुरक्षा र आर्थिक विषयको तनावलाई दुवै पक्षले मत्थर पार्ने प्रयास गरिरहेका बेला आगामी साता हुने उक्त प्रतिनिधिमण्डलको भ्रमण अमेरिकी अधिकारीहरूको चीन भ्रमणको शृङ्खलामा सबैभन्दा नयाँ हुनेछ।
“यस भ्रमणले अमेरिकी कांग्रेसको चीनप्रतिको वस्तुनिष्ठ बुझाइलाई अभिवृद्धि गर्नेछ भन्ने हाम्रो अपेक्षा छ, यो भ्रमणलाई स्वागत गर्दछौँ”, चीनको विदेश मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ।
आसन्न भ्रमणले दुई मुलुकका विधायिका निकायबीचको वार्ता र आदानप्रदानलाई प्रवर्द्धन गर्ने तथा चीन–अमेरिकाबीचको विकासमा सकारात्मक पक्षलाई सामेल गर्ने आशा गरिएको पनि मन्त्रालयले जनाएको छ।
सुमरको चीन भ्रमणमा रिपब्लिकन सिनेटर माइक क्र्यापो पनि सहभागी हुनुहुनेछ। अमेरिकी सञ्चारमाध्यमका अनुसार छ सदस्यीय प्रतिनिधिमण्डलले चिनियाँ राष्ट्रपति सि जिनपिङसँग भेटवार्ता गर्ने अपेक्षा गरिएको छ। साथै प्रतिनिधिमण्डलले चीनमा अमेरिकी व्यवसायहरूका लागि वातावरण निर्माण गर्नेदेखि लिएर मानव अधिकारसम्मका मुद्दाहरू उठाउन खोज्नेछ।
सिनेटर सुमरको कार्यालयलाई उद्धृत गर्दै न्युयोर्क टाइम्सले चीन भ्रमणका क्रममा प्रतिनिधिमण्डल दक्षिण कोरिया र जापानमा पनि केहीबेर रहने जनाएको छ।
हालै अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केन, अर्थमन्त्री ज्यानेट येलेन र जलवायु दूत जोन केरीको हालैको चीन भ्रमणपछि यो भ्रमण हुन लागेको हो।
सुमर र उनका सहयोगी विधायकहरूले मे महिनामा चीनको अत्याधुनिक प्रविधि र लगानीको प्रवाहलाई सीमित गरेर चीनको बढ्दो विश्वव्यापी प्रभावसँग लड्न डेमोक्रेटिक र रिपब्लिकन दुवै दलको ठूलो प्रयासको घोषणा गरेका थिए।