पर्यटन प्रवर्द्धन गर्न काठमाडौंमा चिनियाँ फोटो प्रदर्शनी

काठमाडाैं । काठमाडौंमा चिनियाँ फोटो प्रदर्शनी आयाेजना गरिएकाे छ ।

नेपाल र चीनबीच सांस्कृतिक आदानप्रदान एवं पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले साेमबारदेखि काठमाडौंमा नेपाल सान्दोङ (बिन्जु) सांस्कृतिक सप्ताह तथा सान्दोङ फोटोग्राफी प्रदर्शनी सुरु भएकाे हाे ।

नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ दूतावास तथा नेपाल फोटो पत्रकार महासंघको समन्वय तथा चीनको प्रान्तको सान्दोङ प्रान्त र सान्दोङ (बिन्जु) फोटोग्राफी एशोसिएसनको आयोजनामा नेपाल पर्यटन बाेर्डमा सुरु भएकाे फोटो प्रदर्शनी एक सातासम्म सञ्चालन हुनेछ ।

चिनियाँ नयाँ वर्षका अवसरमा आयोजना गरिएको उक्त फोटो प्रदर्शनीको बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मीले उद्घाटन गर्नुभयाे । नेपाल र चीनबीच लामो धार्मिक तथा सांस्कृति सम्बन्ध रहिआएको भन्दै उहाँले प्रदर्शनीले दुई देशबीचको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने बताउनुभयो ।

फोटो प्रदर्शनीमा सान्दोङ प्रान्तका विभिन्न ६० वटा तस्विर राखिएका छन् ।