Trending Now

बैरागी काइँलालाई नागरिक अभिनन्दन तथा स्रस्टाहरु पुरस्कृत

प्रसिद्द कवि बैरागी काइँलालाई नागरिक अभिनन्दन गरिएको छ।
नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले नेपाली संस्कृतिकर्मी एवं प्रसिद्ध कवि बैरागी काइँला (तिलविक्रम नेम्वाङ) लाई धरानमा अभिनन्दन गरेको हो । धरानको सैनिक भवनमा शनिबार अभिनन्दन गर्नुअघि उनलाई रथारोहणका साथ नगरपरिक्रमा गराइएको थियो ।
याक्थुङ लिम्बू समुदायका मुन्धुमविद् समेत रहेका काइँलाको अभिनन्दनमा मौलिक याक्थुङ समुदायको येवा–फेदाङ्मा–साम्बा, महिला समूहको नौमती बाजा, किरात याक्थुङ चुम्लुङको च्याब्रुङ, किरात राई यायोक्खाको साकेला, तामाङ घेदुङको सेलो र डम्फु, नेवारी समुदायको धिमे बाजागाजासहित सांस्कृतिक झाँकी प्रदर्शन गरिएको थियो ।
नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपतिसमेत रहेका काइँलालाई कविता–काव्य एवम् याक्थुङ मुन्धुमको खोज–अन्वेषण तथा लेखन, सम्पादन, अनुवाद क्षेत्रमा दिएको अतुलनीय योगदान वापत नागरिक अभिनन्दन गरिएको प्रतिभा प्रतिष्ठान बेलायतका अध्यक्ष अध्यक्ष गणेश राईले बताए ।
काइँलालाई कोशी प्रदेश प्रमुख परशुराम खापुङले ताम्रपत्र अर्पण तथा दोशल्ला ओढाएर अभिनन्दन गरेका थिए । प्रतिष्ठानका महासचिव देवेन्द्र खेरेसले भने, ‘बैरागी काइँला नेपाली काव्यसाहित्यमा आयामेली कविका रूपमा प्रसिद्ध भएको, र दार्जिलिङमा रहँदा इन्द्रबहादर राई र ईश्वर वल्लभसँग मिलेर नेपाली साहित्यमा ‘तेस्रो आयाम’ नामक आयामेली आन्दोलनमार्फत साहित्यजगतमा नयाँ युगको सुरुआत गर्नुका साथै विशिष्ट रचनाशैलीका कारण नेपाली कविता–काव्यका फाँटमा पृथक परिचय निर्माण गर्नुभएकाले अभिनन्दन गरेको हौं ।’
सोही अवसरमा वरिष्ठ गायक दीप श्रेष्ठलाई ताम्रपत्र र नगद ५० हजार रुपैयाँसहित प्रतिभा सम्मान गरिएको थियो । यस्तै, धरानका सशक्त युवा कवि सुदीप पाख्रिनलाई पनि ताम्रपत्र र नगद १ लाख रुपैयाँसहितको प्रतिभा पुरस्कार प्रदान गरिएको थियो ।

 

Comments are closed.