गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले मुलुक सङ्कटमा पर्दा नेपालका ठूला दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कांग्रेस सधैं एकजुट भएर निकास दिँदै आएको धारणा राखेका छन् ।

लमजुङको राइनास नगरपालिका-८ तार्कुघाटस्थित वीरभक्ति माध्यमिक विद्यालयको ५७औँ वार्षिकोत्सव तथा ५१औँ अभिभावक दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले गठबन्धन सरकार ढलिहाल्छ कि भन्ने भ्रमबाट मुक्त हुन आग्रह गरे ।

सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरूङले भने, ‘तपाईंहरूलाई धेरै भ्रम फैलाइएको छ होला, कि सरकार फेरिन्छ, भनेर । मन्त्रीहरू फेरबदल हुन सक्लान्, तर कांग्रेस र एमालेको सरकार रहिरन्छ ।’ उनका अनुसार प्रधानमन्त्री केपी शर्मा ओली दुई वर्ष प्रधानमन्त्री समय पूरा भएपछि कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्नेछन् । गठबन्धन सरकारबीचको यो समझदारीमा तलमाथि नहुने उनले स्पष्ट पारे ।

‘हाम्रो यो गठबन्धनको सरकार तीनै वर्ष चल्छ, विसं २०८४ को चुनाव सम्पन्न गरेर मात्रै यो सरकारका साझेदार दलहरु आआफ्नो बाटो लाग्छन्’, मन्त्री गुरुङले भने । नेपालमा अस्थिरता ल्याउन चाहने शक्तिहरूले सरकारको उद्देश्य बिथोल्न जनतामा भ्रम छर्दै गरेको बताउँदै उनले त्यस्ता भ्रममा नपरी वर्तमान सरकारप्रति विश्वस्त हुन जनतासमक्ष आग्रह गरे ।

सबै पालिका र वडामा इन्टरनेट सुविधा र टेलिफोनको व्यवस्था पुर्‍याउने कार्य गर्दै सञ्चारमन्त्री गुरूङले पुराना कानुन र ऐन संशोधन गर्ने, सामाजिक सञ्जाल नियमन ऐन, साइबर सुरक्षा ऐन, शिक्षा ऐनलगायत थुप्रै नयाँ ऐन ल्याउन लागिएको समेत जानकारी दिए ।