मन्त्री बन्ने दौडधूपमा कांग्रेस-एमालेका नेता, कांग्रेसले तोक्यो मापदण्ड

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले नेपाली कांग्रेसको समर्थनमा राष्ट्रपतिसमक्ष प्रधानमन्त्रीको दाबी पेस गरेसँगै दुवै दलमा उपप्रधानमन्त्री र मन्त्री बन्नेको दौडधुप सुरु भएको छ ।नयाँ सरकारमा नेपाली कांग्रेसले उपप्रधानमन्त्रीसहित १० वटा मन्त्रालय र एमालेले प्रधानमन्त्रीसहित नौवटा मन्त्रालयको नेतृत्व गर्ने टुंगो लागिसकेको छ । तर अन्य दललाई समेत सहभागी गराउनुपर्ने भएकाले मन्त्रालयको संख्या थपघट हुन सक्ने एमालेले जनाएको छ । कांग्रेसका तर्फबाट सरकारको नेतृत्व प्रकाशमान सिंहले गर्नुहुने र उहाँले उपप्रधानमन्त्रीसहित भौतिक पूर्वाधार तथा यातयात मन्त्रालयको जिम्मेवारी सम्हाल्नुहुने लगभग टुंगो लागेको छ ।
त्यस्तै कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखक गृहमन्त्री बन्ने निश्चितजस्तै छ । कांग्रेसका तर्फबाट आरजु राणा देउवा, जीवन परियार, रामहरि खतिवडा, चन्द्र भण्डारी तथा अजय चौरसियालाई मन्त्री बनाउने विषयमा पनि छलफल चलिरहेको जनाइएको छ ।
एमालेका तर्फबाट उपप्रधानमन्त्री तथा अर्थमन्त्रीमा पार्टी उपाध्यक्ष विष्णु पौडेलको नाम निश्चित भइसकेको नेताहरुले दाबी गरेका छन् । प्रधानमन्त्रीसहित नौवटा मन्त्रालय पाएको एमालेमा मन्त्रीको टुंगो लगाउने जिम्मा भने अध्यक्ष ओलीलाई दिइएको छ । एमालेबाट सञ्चार मन्त्रालयको जिम्मेवारी पार्टी सचिव योगेश भट्टराई र पदम गिरीमध्ये एक जनालाई दिनेबारेमा छलफल भइरहे पनि टुंगो लागेको छैन । त्यसैगरी बाँकी मन्त्रीमा सूर्य थापा, ऋषिकेश पोखरेल, विद्या भट्टराई, जुली महतो र ज्वालाकुमारी साहको विषयमा छलफल भइरहे पनि टुंगो लाग्न बाँकी छ ।
एमालेमा मन्त्रीको टुंगो लगाउने जिम्मा पार्टी अध्यक्ष ओलीलाई दिइएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओली सुरुमा उपप्रधानमन्त्री नराख्ने मनस्थितिमा रहे पनि नेताहरुको दबाब थेग्न नसकेपछि अन्तिममा दुईजना उपप्रधानमन्त्री राख्न सहमत हुनुभएको हो ।
राष्ट्रपति पौडेलले संविधानको धारा ७६ को उपधारा २ बमोजिम बहुमतको सरकार गठनका लागि भोलि साँझ ५ बजेसम्मको समयसीमा दिँदै हिजो दलहरुलाई आह्वान गर्नुभएको थियो । लगत्तै एमाले अध्यक्ष ओलीले कांग्रेस र एमालेका १६६ सांसदको समर्थनमा प्रधानमन्त्रीमा दाबी पेस गरिसक्नुभएको छ । राष्ट्रपतिले भोलि साँझ ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्ने र सोमबार बिहान ११ बजे शपथ गराउने तयारी रहेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।
कांग्रेसले तोक्यो मापदण्ड
यसैबीच नेपाली कांग्रेसले एमाले अध्यक्ष ओली नेतृत्वमा बन्ने सरकारमा सहभागी मन्त्रीको मापदण्ड बनाएको छ ।
पार्टी मुख्यालय सानेपामा बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सरकारमा सहभागी हुने मन्त्री चयन गर्न मापदण्ड बनाएको हो । बैठकले योगदान र योग्यता, समावेशिता र प्रादेशिक सन्तुलन मिलाएर मन्त्री छनोट गर्ने मापदण्ड बनाएको हो । एकैपटक मन्त्रीको टुंगो लगाउने तयारीसमेत कांग्रेसले गरेको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिनुभयो ।
बैठकले बाढी पहिरो प्रभावितको उद्धार र राहतको व्यवस्थामा सक्रियताका साथ लाग्न सम्बन्धित निकायलाई आग्रह गरेको छ ।