सहकारी प्रकरण: रविमाथि छानबिन गर्न संसदीय समिति गठन गर्न प्रधानमन्त्री ‘सकारात्मक’

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबारे छानबिनका लागि संसदीय समिति गठन गर्न सकारात्मक बनेका छन् ।
कांग्रेसका नेताहरू महामन्त्री गगन थापा तथा प्रमुख सचेतक रमेश लेखकसँग आज बिहान भएको छलफलमा प्रधानमन्त्री प्रचण्डले समस्याको समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
प्रमुख सचेतक लेखकका अनुसार छलफलमा प्रधानमन्त्री प्रचण्डले आज राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने संसद् बैठकमा अवरोध नगर्दिन कांग्रेस नेताहरूसँग अनुरोध गरेका थिए । प्रधानमन्त्री प्रचण्डले कांग्रेसले उठाइरहेको माग आफूलाई सम्बोधन गर्नुपर्ने विषय भएको भन्ने लागिरहेको र समस्याको समाधान हुने गरेर समस्या समाधान गर्ने प्रतिबद्धता जाहेर गरेका लेखकले जानकारी दिए ।सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबारे छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने माग गर्दै कांग्रेसले लगातार संसद् अवरुद्ध गरिरहेको छ । सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न आज दिउँसो ३ बजे प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठक बस्दै छ।