गठबन्धनले बनायो राष्ट्रिय सभा निर्वाचनका लागि समन्वय समिति

काठमाडौं । सत्ता गठबन्धन दलहरुले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि सातै प्रदेशमा निर्वाचन समन्वय समिति गठन गरेका छन् ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), नेकपा एकीकृत समाजवादी पार्टीसहित सत्ता गठबन्धनमा रहेका दलहरुले प्रदेशमा हुने निर्वाचनको परिचालन र समन्वयका लागि समिति गठन गरेका हुन् ।

केन्द्रमा कांग्रेसका प्रमुख सचेतक रमेश लेखकको संयोजकत्वमा गठित समन्वय समितिमा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन, जसपाका प्रवक्ता मनिष सुमन र नेकपा एकीकृत समाजवादीका उपमहासचिव विजय पौडेल सदस्य छन् ।

समितिमा गोविन्द चौधरी आमन्त्रित सदस्य छन् । समितिको शनिबार बसेको पहिलो बैठकले सातै प्रदेशमा राष्ट्रिय सभा निर्वाचन प्रदेश समन्वय समिति गठन भएको विवरण माथि छलफल गर्दै अब जिल्लाहरुमा पनि समिति गठन गर्ने निर्णय गरेको छ ।

त्यस्तै, बैठकले समितिको सदस्य सचिवमा अधिवक्ता केशवराज जोशीलाई चयन गर्ने निर्णय गरेको छ ।

समितिले मतदाताहरुसँग गठबन्धनका उम्मेदवारहरुको पक्षमा मतदानका लागि गठबन्धन दलका शीर्ष नेताहरुलाई संयुक्त वक्तव्य जारी गर्न अनुरोध गर्ने निर्णय गरेको छ ।

त्यस्तै, राष्ट्रिय सभा निर्वाचन प्रदेश समन्वय समिति र जिल्ला समन्वय समिति– २०८० ले गठबन्धन उम्मेदवारहरुको पक्षमा मतदाताहरुसँग चुनाव प्रचारप्रसारदेखि मतगणनासम्म गर्नुपर्ने कार्यहरुको बारेमा आवश्यक निर्देशन दिने निर्णय गरेको छ ।