गत बुधबारदेखि भारतमा कोराना संक्रमितको संख्या घट्दै गएको छ भने यसबाट स्वास्थ्यलाभ गर्नेको संख्या बढ्दै गएको छ। बितेका २४ घण्टामा सात हजार पाँच सय ३३ जनामा कोभिड–१९ संक्रमण पत्ता लागेको तथा ११ हजार ४७ जनाले कोरोनालाई परास्त गरेका केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आज जनाएको छ।
दुई लाख आठ हजार एक सय १२ जनाको स्वाब परीक्षण गर्दा सात हजार पाँच सय ३३ जनामा संक्रमण पत्ता लागेका हो। अघिल्लो साता भारतमा कोरोना महामारी मत्थर भएयता सबैभन्दा धेरै बिरामी फेलापरेपछि केन्द्र सरकारले परीक्षणलाई तीव्र गतिमा अघि बढाउनका साथै खोप अभियानलाई पनि उच्च प्राथमिकता दिँदै आएको छ।
हाल भारतमा कोरोनाबाट सक्रिय रूपमा संक्रमित बिरामी ०.१२ प्रतिशत रहेका उक्त मन्त्रालयले जनाएको छ। चार करोड ४३ लाख ४७ हजार २४ जना रोगमुक्त भएका छन्। विश्वव्यापी कोरोना महामारी शुरुभएदेखि हालसम्म दुई अर्ब २० करोड ६६ लाख भारतीयले कोरोनाविरुद्ध खोप लगाइसकेका छन्।