लडाकु शिविरहरुमा भएका भ्रष्टाचारको पनि छानबिन गर्नुपर्छ: सांसद राणा

काठमाडौँ । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका सांसद एवं पूर्व अर्थराज्यमन्त्री उदयशमशेर राणाले तत्कालीन माओवादी लडाकु शिविरमा भएको भ्रष्टाचारको पनि तत्काल छानबिन गर्न सरकारसँग माग गरेका छन् ।

सांसद राणाले माओवादी लडाकु शिविरमा पनि भ्रष्टाचारसम्बन्धी समस्याहरू रहेकाले त्यसको पनि छानबिन प्रक्रियालाई तत्काल अघि बढाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग माग गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री श्रेष्ठका आफ्नै मान्छेहरु पनि भ्रष्टाचारमा संलग्न भएको कुरा बाहिर आएको जिकिर गर्दै उनले त्यसलाई पनि छायाँमा पर्न सरकारले दिन नहुने बताए ।

सांसद राणाले ललिता निवास प्रकरणको छानबिनको कामलाई सरकारले पुनः अघि बढाएकोमा स्वागत गर्दै त्यस्ता खालका अरू भ्रष्टाचारका मुद्दाहरूलाई पनि सरकारले अघि बढाउनुपर्ने बताए । उनले भने, ‘त्यो लडाकुको विषयमा पनि समस्याहरू अहिले देखिएको छ । त्यो फाइल पनि खोल्न म प्रधानमन्त्री र गृहमन्त्रीलाई आग्रह पनि गर्न चाहन्छु । ललिता निवासको फाइल खोलिएको छ । त्यो ठिकै छ । कारबाही हुनुपर्छ । मैले भनिहाले–भ्रष्टाचारलाई कारबाही हुनुपर्छ ।’सांसद राणाले आफ्नो पार्टीले भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलताको नीति लिएको बताए ।