सीपी खेतानले १ खर्बमा बेचे गोर्खा ब्रुअरी र कार्ल्सबर्ग इन्डियाको सेयर

काठमाडौं । खेतान समूहका सीपी खेतानले नेपालको गोर्खा ब्रुअरी र भारतको कार्ल्सबर्ग इन्डियाको सेयर १ खर्ब रुपैयाँ (७४ करोड ४० लाख अमेरिकी डलर) मा बेचेका छन् ।सिंगापुरको कम्पनी सीएलएपीएल (सिंगापुर) होल्डिङ पीटीई लिमिटेडको ३३.३३ प्रतिशत सेयर कार्ल्सबर्ग साउथ एसिया पीटीई लिमिटेड (सीएसएपीएल) ले खरिद गरेको हो ।
सीएलएपीएल (सिंगापुर) होल्डिङ्सको ३३.३३ प्रतिशत सेयर सीपी खेतानसँग थियो । अब त्यो कम्पनीको सम्पूर्ण स्वामित्व कार्ल्सबर्ग साउथ एसियासँग हुनेछ । यो सेयर खरिद बिक्रीका विषयमा खेतान र कार्ल्सबर्गबीच लामो समयदेखि विवाद रहँदै आएको थियो ।
सीएलएपीएल (सिंगापुर) होल्डिङ्ससँग भारतको कार्ल्सबर्ग इन्डिया लिमेटेडको शतप्रतिशत सेयर स्वामित्व छ ।त्यस्तै नेपालको गोर्खा ब्रुअरी प्रालिको ९० प्रतिशत सेयर पनि सोही कम्पनीसँग भएको विज्ञप्तिमा उल्लेख छ ।गोर्खा ब्रुअरीको बाँकी १० प्रतिशत सेयरमध्ये ९.९४ प्रतिशत सयेर पनि कार्ल्सबर्ग साउथ एसियाले नै खरिद गर्ने सम्झौता भएको छ ।
यो सम्झौतापछि कार्ल्सबर्ग इन्डियाको शतप्रतिशत सेयर स्वामित्व र नेपालको ९९.९४ प्रतिशत स्वामित्व कार्ल्सबर्ग ग्रुपसँग हुने उसले जनाएको छ ।यो सम्झौताअनुसारको कारोबार सन् २०२४ को अन्तिमसम्म परा हुने समेत बताइएको छ । तर, नेपालमा सरकारी अनुमति प्राप्त गर्नेलगायत सर्तहरू पूरा नभएको अवस्थामा त्यो अवधि लामो पनि हुनसक्ने जनाइएको छ ।
खरिद बिक्री सम्झौता कुल ७४ करोड ४० लाख अमेरिकी डलर (झण्डै १ खर्ब रुपैयाँ) बराबरको रहेको छ । तर, पछि कारोबार सम्पन्न हुँदा यो रकममा केही तलमाथि हुनसक्ने पनि बताइएको छ ।कुल कारोबार रकममध्ये २० करोड ७० लाख डलर (करिब २७ अर्ब ८० करोड रुपैयाँ) कार्ल्सबर्ग समूहले नै राख्ने र कम्पनीहरूमा आउनसक्ने सम्भावित दावी त्यसैबाट भुक्तानी गर्ने जनाइएको छ । यो रकम सीपी खेतानले ३ देखि ५ वर्षपछि मात्रै प्राप्त गर्ने पनि जनाइएको छ ।यो खरिद बिक्रीले कार्ल्सबर्ग इन्डिया र कार्ल्सबर्ग साउथ एसियाको खाता एकीकरणमा कुनै प्रभाव नपर्ने ग्रुपले जनाएको छ । तर, नेपालको खाता एकीकरण बाँकी रहेको र खेतान समूहको ९.९४ प्रतिशनत सेयर खरिद गरिसकेपछि त्यो पनि एकीकृत हुने जनाइएको छ ।‘हामी हाम्रो साझेदारसँग एउटा सौहार्द्रपूर्ण समझदारीमा पुग्न सकेकोमा खुसी छौं । अब एसियाको दुई महत्त्वपूर्ण मुलुकको बजारमा हाम्रो पूर्ण नियन्त्रण स्थापित भएको छ,’ कार्ल्सबर्गका ग्रुप सीईओ ज्याकोब आरुप एन्डरसनले भने ।भारतको बजार विस्तार गर्नु आफ्ना लागि निकै महत्त्वपूर्ण भएको र दीर्घकालीन लक्ष्य प्राप्तिका लागि लगानी विस्तार गर्ने पनि एन्डरसनले उल्लेख गरेका छन् ।कार्ल्सबर्गको भारतको बियर बजारमा करिब १७ प्रतिशत हिस्सा छ भने नेपालमा ७० प्रतिशतभन्दा ठूलो बजार हिस्सा रहेको उसको दाबी छ ।