साइबर व्यूरो प्रोजेक्ट सम्बन्धी छलफल तथा अन्तक्रिया कार्यक्रम सम्पन्न

काठमाडौं, २८ असार

प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह र KOICA (Korea International cooperation Agency) नेपालका पदाधिकारीहरूबीच नेपाल प्रहरीको साइबर व्यूरोको क्षमता अभिवृद्धिका लागि साइबर व्यूरो प्रोजेक्ट सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम नेपाल प्रहरी प्रधान कार्यालयमा मंगलबार सम्पन्न भएको छ ।

कार्यक्रममा प्रहरी महानिरीक्षक सिंहले वित्तिय अपराध, साइवर बुलिङ लगायतका साइबर अपराधहरु दिन प्रति दिन बढ्दै गएको अवस्थामा यस्ता कार्यक्रमले नेपाल प्रहरीको संस्थागत विकासका साथै साइबर अपराध नियन्त्रणका लागि थप टेवा पुग्ने बताउनुभयो । साथै उहाँले नेपाल प्रहरी यस प्रकारका अपराध नियन्त्रण तथा अनुसन्धानका लागि अति संवेदनशील र गम्भीर रहेको उल्लेख गर्नुभयो ।

प्रहरी महानिरीक्षक सिंहले साइबर अपराधविरुद्ध एक्लै लड्न नसकिने उल्लेख गर्दै KOICA को साइबर व्यूरो प्रोजेक्टसँग आपसी समन्वय र सहयोग आदान प्रदान गरी अगाडि बढ्न नेपाल प्रहरी तत्पर रहेको बताउनुभयो । साथै उहाँले परियोजनाहरूले आगामी दशकहरूमा साइबर अपराध अनुसन्धानको लागि बलियो आधार निर्माण गर्ने विश्वास समेत व्यक्त गर्नुभयो ।

सो अवसरमा KOICA नेपालका डेपुटी कन्ट्री डाइरेक्टर Jong-Sung Choi ले साइबर अपराध नियन्त्रण नेपालको लागि  ठूलो चुनौतीको विषय रहेको उल्लेख गर्दै परियोजना अन्तर्गत आपसी समन्वय गरी काम गर्न आफूहरू तयार रहेको चर्चा गर्नुभयो । साथै उहाँले नेपालमा पनि साइबरको माध्यमबाट वित्तिय अपराध, यौन उत्पीडन र हिंसालगायतका अपराध हुने गरेको पाइएकोले यस्ता अपराध न्यूनीकरणका लागि परियोजनाले जगको रूपमा काम गर्न नेपाल प्रहरीसँग सहकार्य गर्ने बताउनुभयो ।

KOICA नेपालका प्रोजेक्ट मेनेजर Gibum kim ले साइबर परियोजना सम्बन्धी बिषयमा मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा सोही प्रोजेक्टका साइबर सेक्युरिटी एक्सपर्ट Younsik Jang ले साइबर व्यूरो प्रोजेक्ट सम्बन्धी गरेका कामहरू, साइबर व्यूरोको अवलोकन र विश्लेषणबाट देखिएका समस्या र सुधार गर्नुपर्ने पक्ष लगायतका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो ।

प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु र KOICA नेपालका पदाधिकारीहरूको सहभागिता रहेको उक्त कार्यक्रममा सहभागीहरूबीच साइबर सुरक्षा सम्बन्धी छलफल समेत भएको थियो ।