काठमाडौं । देशका केही स्थानमा सोमबार (हिजो) रातिदेखि बदली (आकाशमा बादल), वर्षा र हिमपात भएको छ । पश्चिमी वायु र पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले वर्षा र हिमपात भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका मौसमविद् शान्ति कँडेलका अनुसार, पछिल्लो ६ घण्टा (मंगलबार बिहान ९ बजेसम्म)मा डडेलधुरामा सबैभन्दा बढी वर्षा मापन गरिएको छ । डडेलधुराका केही स्थानमा वर्षा भएको उनले बताइन् ।
यो अवधिमा डडेलधुराको साहुखर्कमा सबैभन्दा बढी १५.६ मिलिमिटर वर्षा भएको छ । डडेलधुराकै डडेलधुरा वर्षा मापन केन्द्रमा ८.२, चौरबन्दलेमा ७ मिलिमिटर वर्षा मापन गरिएको छ । डोटीका केही स्थानमा पनि वर्षा भएको छ । डोटीको गैरामा ६.८, दिपायलमा ५.५ मिलिमिटर वर्षा मापन गरिएको छ ।
बैतडीमा ३.८, हुम्लामा २.२, कञ्चनपुरमा १ मिलिमिटर वर्षा भएको उनले जानकारी दिइन् । “त्यहाँ केही स्थानमा वर्षा भइरहेको छ, हुम्लामा हिमपात पनि भएको छ,” उनले बाह्रखरीसित भनिन् ।
उक्त पानी पार्ने प्रणाली विस्तारै पूर्वतिर सर्दै छ । त्यसले विभिन्न स्थानमा बदली, वर्षा र हिमपातको सम्भावना रहेको उनले बताइन् । त्योसँगै चिसो बढ्नेछ ।
“काठमाडौंमा पनि आज राति फाटफुट वर्षाको सम्भावना छ,” मौसमविद् कँडेलले भनिन्, “भोलि पनि आंशिकदेखि साधारणतया बदलीको सम्भावना छ ।”