दशरथ रंगशालाले गुमायो अन्तर्राष्ट्रिय मान्यता, अब घरेलु मैदानमा हुने खेल विदेशमै खेल्नु पर्ने

मापदण्ड कायम राख्न नसकेका कारण काठमाडौंको दशरथ रंगशालाले अन्तर्राष्ट्रिय मान्यता गुमाएको छ। खराब पिचका कारण फिफा विश्वकप छनोट अन्तर्गत बहराइनसँग घरेलु मैदानमा खेल्ने अवसर गुमाएको थियो। फेरि अरु कारण पनि थपिएको छ।

नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले आगामी जेठ २४ गते दशरथ रंगशालामा विश्वकप छनोटअन्तर्गत यूएईसँग खेल्ने तालिका थियो। त्यसका लागि एएफसीका म्याच कमिस्नर सुब्रतले यही वैशाख १९ र २० गते रंगशाला र अभ्यास मैदानको निरीक्षण गरेका थिए।

दशरथ रंगशालाको मान्यता गुम्न नदिन एएफसीसँग छलफलमा रहेको एन्फाले जनाएको छ।

राष्ट्रिय खेलकुद परिषद्ले संरक्षण गरिरहेको रंगशालामा विभिन्न खेलकुद आयोजना गरेपछि रंगशालाको मैदानको पिच बिग्रिएको छ । राखेपले एक निजी कम्पनीलाई मैदान बनाउने जिम्मेवारी दिएको छ। सुरक्षा मापदण्डमा पनि प्रश्न उठेको छ। यसका लागि रंगशालाको भौतिक परिवर्तन आवश्यक रहेको एएफसीले औंल्याएको छ ।

१९ गते अभ्यासका लागि प्रस्ताव गरिएको च्यासल र भद्रकालीस्थित त्रिभुवन आर्मी क्लबको मैदान निरीक्षण गरेको एएफसीको टोली भोलिपल्ट दशरथ रंगशाला पुगेको थियो। निरीक्षणपछि एएफसीले बुझाएको रिपोर्टमा रंगशालाको पिच पहिलेभन्दा राम्रो भए पनि यूएईसँगको खेलका लागि योग्य नभएको रिपोर्ट दिएको हो।

यस्तै फ्लडलाइट मापदण्डअनुसार नभएको, एन्फाले सेफ्टी सर्टिफिकेट र इभ्याक्युएसन प्लान एएफसीलाई नबुझाएको रिपोर्टमा उल्लेख छ। अभ्यासका लागि च्यासलको पूर्वाधार पर्याप्त नभएको भनेको छ।

एएफसीले एन्फालाई वैशाख २८ गतेभित्र न्युट्रल भेन्यु प्रस्ताव गर्न निर्देशन दिएको छ। यदि नगरे एएफसी आफैंले नेपाल र यूएईबीचको खेलका लागि न्युट्रल भेन्यु घोषणा गर्नेछ।

१९९९ मा चीन सरकारले रंगशालाको पुनर्निर्माण गरिदिएको थियो। रंगशालालाई २०७२ सालको भूकम्पले क्षति पुर्यायो । त्यसको दुई वर्षपछि रंगशाला पुनर्निर्माण भएको थियो। यो रंगशालामा स्कुलका कार्यक्रम, कन्सर्टदेखि विभिन्न समारोह हुँदै आएका छन्।

अन्तर्राष्ट्रिय मान्यता पाएको दशरथ रंगशाला नै नेपालको एकमात्र रंगशाला हो । दशरथ रंगशालाको अन्तर्राष्ट्रिय मान्यता गुम्ने भएपछि अब नेपालमा अन्तर्राष्ट्रिय फुटबल आयोजना गर्ने कुनै मैदान हुने छैन।