छुट्टाछुट्टै सवारी दुर्घटनामा ९ जनाको मृत्यु

काठमाडौं, १८ चैत

            नुवाकोट, दुप्चेश्वर गाउँपालिका-४ गोल्फुमा ना.१ ज.३९८४ नम्बरको टाटा सुमो शुक्रबार दिउँसो दुर्घटना हुँदा सुमोमा सवार ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा दुप्चेश्वर गाउँपालिका-४ बस्ने २५ वर्षीय छिरिङ तामाङ, १६ वर्षीया मनमायाँ तामाङ र सोही गाउँपालिका-७ बस्ने ४५ वर्षीया सानु कान्छी तामाङ रहेका छन् । दुर्घटनामा छिरिङ र मनमायाँको घटनास्थलमै मृत्यु भएको हो भने गम्भीर घाइते भएकी सानु कान्छीको त्रिशुली अस्पताल हुँदै थप उपचारको लागि ट्रमा सेन्टर काठमाडौंतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका अन्य ९ जनाको ट्रमा सेन्टर काठमाडौंमा उपचार भइरहेको   छ ।

कास्की, पोखरा महानगरपालिका-८ न्युरोडमा ग.१ ज ४५४० नम्बरको विंगर गाडीले ग.५ प ९४ नम्बरको  स्कुटरलाई  शुक्रबार दिउँसो ठक्कर दिँदा स्कुटरमा सवार पोखरा महानगरपालिका-८ सृजना चोक बस्ने ५० वर्षीय सुर्य थकालीको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । विंगर गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कपिलवस्तु, वाणगंगा नगरपालिका-१० वनकट्टीस्थित सडकमा लु.४ त १०१४ नम्बरको ट्याक्टर अनियन्त्रित भई शुक्रबार दिउँसो दुर्घटना हुँदा ट्याक्टरमा काम गर्ने सोही नगरपालिका-१० बस्ने ३८ वर्षीय हरिराम चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पाँचथर, फिदिम नगरपालिका-३ कान्छी दोकानस्थित प्र.१-०१-००१ च ९३४९ नम्बरको कार अनियन्त्रित भई शुक्रबार साँझ दुर्घटना हुँदा कारमा सवार झापा, बिर्तामोड नगरपालिका-१  बस्ने १८ वर्षीया रस्मी भुजेलको मृत्यु भएको छ । दुर्घटना गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल पाँचथरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका कारमा सवार अन्य ४ जनाको जिल्ला अस्पताल पाँचथर हुँदै थप उपचारको लागि बिएण्डसी अस्पताल झापातर्फ पठाइएको छ ।

दोलखा, भिमेश्वर नगरपालिका-६ चोथानमा बा.४ ख ९७५ नम्बरको ट्रकले बा.९४ प ३२५५ नम्बरको मोटरसाइकललाई शनिबार बिहान ठक्कर दिँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने काभ्रे महाभारत गाउँपालिका-८ घर भएका २० वर्षीय राजु मगरको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको च्छो-रोल्पा अस्पताल चरिकोटमा उपचारको क्रममा मृत्यु भएको हो । साथै ठक्करबाट घाइते भएका मोटरसाइकलमा सवार अन्य १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । हाल फरार ट्रक चालकको प्रहरीले खोजी गरिरहेको छ ।

            प्युठान, प्युठान नगरपालिका-७ टिकुरी बसपार्कस्थित सडकमा लु.२ क ३८८९ नम्बरको टिपरको ठक्करबाट पैदलयात्री गौमुखी गाउँपालिका-७ नारीकोट बस्ने २० वर्षीया गिता विश्वकर्माको शनिबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल बिजुवारमा उपचारको क्रममा मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।         बझाङ, जयपृथ्बी नगरपालिका-९ पक्किपुल बजारस्थित सडकमा सु.प.प्र.०२-००१ ख १११९ नम्बरको बसको ठक्करबाट सोही ठाउँ बस्ने सुर्मा गाउँपालिका-३ घर भएका धन बहादुर बोहराको छोरा ३ वर्षीय सरगम बोहराको शनिबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।