Trending Now

अधिकारकर्मी महावीर विश्वकर्माको दुर्घटनामा निधन

चितवन — सञ्चारकर्मसँगै राजनीति र दलित अधिकारको क्षेत्रमा सक्रिय युवा महावीर विश्वकर्माको दुर्घटनामा परेर मंगलबार बिहान निधन भएको छ ।

मंगलबार बिहान साढे पाँच बजेतिर पूर्व–पश्चिम महेन्द्र राजमार्गको राप्ती नगरपालिका–६ भण्डारानजिक हर्दी चोकमा बिग्रेर राखेको भुस बोकेको ना २ ख ८५२२ नम्बरको ट्रकसँग हेटौंडाबाट नारायणगढतर्फ आइरहेको बा ४ ख ४१२ नम्बरको माइक्रोबस ठोक्किएको थियो ।

सोही माइक्रोबसमा रहेका ३५ वर्षका महावीर विश्वकर्मा गम्भीर घाइते भएका थिए । उपचारका लागि भरतपुरको पुरानो मेडिकल कलेजको शिक्षण अस्पतालमा बिहान साढे सात बजेतिर उनको निधन भएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी विजयराज पण्डितले जानकारी दिए ।

महावीर विश्वकर्मा चर्चित रेडियो कार्यक्रम ‘बहकिने मन’का प्रस्तोता थिए । उनी टेलिभिजन कार्यक्रम निर्माणमा पनि संलग्न थिए । चितवन राप्ती नगरपालिका–४ डडुवा घर भएका महावीर विश्वर्मा वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सदस्य र जात व्यवस्था उन्मूलन मोर्चा नेपालका सचिव थिए ।

सो दुर्घटनामा माइक्रोबसका चालक २६ वर्षीय शंकर चौधरीको बायाँ खुट्टा र नाकमा चोट लागेको छ । उनको अवस्था मध्यम रहेको डीएसपी पण्डितले बताए । अन्य चारजनाको अवस्था सामान्य रहेको उनले जानकारी दिए ।

Comments are closed.