दीक्षा केसी’मिसेस वर्ल्ड’मा भाग लिन अमेरिका प्रस्थान

काठमाडौं, । नेपालको प्रतिनिधित्व गर्दै मिसेस वर्ल्डमा भाग लिन दीक्षा केसी अमेरिका प्रस्थान गर्नुभएको छ । अमेरिकाको लस भेगासमा ‘डिसेम्बर १७’ मा हुने मिसेस वर्ल्डको फिनालेमा भाग लिन उहाँ अमेरिका प्रस्थान गर्नुभएको हो ।

‘वाईवाई मिसेस नेपाल’ वर्ल्डकी विजेतासमेत रहनुभएकी केसीले मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्दै आउनुभएको छ । अमेरिकामा पनि उहाँले यसैसँग सम्बन्धित आफ्नो प्रोजेक्ट प्रस्तुत गर्नुहुने जनाइएको छ ।

यस्तै, उहाँले सुपि रसाइली तथा मनिष राईले तयार पार्नुभएको राष्ट्रिय पोसाकदेखि अन्य आकर्षक पहिरनमा आफूलाई प्रतियोगितामा उतार्नुहुनेछ । स्टेला द मेक अप स्टुडियोको शृङ्गारमा सजिने दिक्षालाई अमेरिकामै बसोबास गर्दै आउनुभएकी चर्चित मेक–अप आर्टिष्ट सोफी सुनवारले मेक–अप गर्ने जनाइएको छ ।

मिसेस वर्ल्ड विवाहित महिलाहरुका लागि हुने सौन्दर्य प्रतियोगिता हो । प्रतियोगितामा अमेरिका, युरोप, एसिया, अफ्रीका, अस्ट्रेलियालगायत ६० भन्दाबढी राष्ट्रका महिलाहरूको सहभागिता हुने आयोजकले जनाएको छ ।

उहाँले संसारमाझ गौतम बुद्धको देश नेपालाई चिनाउनका लागि श्री गणेश सुनचाँदी पसलबाट उपहारस्वरूप प्राप्त भएको बुद्धको स्तुपालाई उपहार स्वरूप आयोजकलाई प्रदान गर्नुहुनेछ ।

Comments are closed.