थप ९२१ प्रहरी चौकी स्थापनाको माग

कोशी प्रदेशमा धेरै प्रहरी चौकीको माग
काठमाडौं । देशभर थप नौ सयभन्दा बढी स्थानमा प्रहरी चौकी स्थापनाको माग आएको छ । अहिले देशभर गरी नेपाल प्रहरीका २६ सय ६० प्रहरी एकाइ छन् ।प्रहरी प्रधान कार्यालयमा देशैभरबाट ९२१ नयाँ प्रहरी चौकी स्थापनाको माग भएको छ । पालिकाको सिफारिसअनुसार जिल्ला सुरक्षा समितिमार्फत प्रहरी प्रधान कार्यालयमा चौकी स्थापनाको माग आएको हो ।
अहिले प्रहरीको ७९ हजार ५ सय जनशक्तिको दरबन्दीअनुसार २६ सय ६० प्रहरी चौकी स्थापना भएका हुन् । माग भएका सबै ठाउँमा चौकी स्थापना गर्ने हो भने प्रहरीमा १६ हजार १८९ जनशक्ति थप गर्नुपर्नेछ ।त्यसैगरी अहिले राखिएका अस्थायी प्रहरी कार्यालयकोसमेत स्तरोन्नतिको माग भइरहेको छ । स्तरोन्नतिका लागि माग भएको ४४३ चौकीका लागि १० हजार ८१२ प्रहरी दरबन्दी थप्नुपर्नेछ । विशेषगरी अपराध बढी भइरहेका र आर्थिक कारोबार बढी हुने जिल्लाबाट प्रहरी चौकीको माग भएको हो । २६ सय ६० प्रहरी एकाइमध्ये १८ सय ६९ को मात्रै आफ्नै भवन रहेको प्रहरी प्रवक्ता दानबहादुर कार्कीको भनाइ छ ।सबैभन्दा धेरै प्रहरी चौकीको माग कोशी प्रदेशमा छ । तर नागरिकले जसरी प्रहरी माग गरिरहेका छन्, त्यहीअनुसार सरकारले स्रोत-साधन उपलब्ध गराउन सकेको छैन । अहिले भइरहेको मागअनुसार प्रहरी एकाइ थप र स्तरोन्नति गर्ने हो भने २७ हजार जनशक्ति थप्नुपर्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।