नेपालगञ्ज विमानस्थलमा डिजिटल मौसम प्रणाली जडान

काठमाडौं । हवाई उडान सुरक्षाका लागि नेपालगञ्ज विमानस्थलमा डिजिटल मौसम प्रणाली जडान गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण र जल तथा मौसम पूर्वानुमान विभागको सहकार्यमा आइतबारदेखि उक्त प्रणालीको सुरुवात गरिएको हो ।

योसँगै अब हवाइजहाजहरूले विमानस्थलमा भएको डिजिटल बोर्डमार्फत मौसमको जानकारी लिएर उडान गर्न सक्नेछन् भने सो जानकारी लिएर एयर ट्राफिक कन्ट्रोलरले उडान भर्न तथा अवतरण गर्न अनुमति दिन सहज हुने प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बताए।

“जहाज उडान तथा अवतरणमा यसले सहयोग पुर्‍याउन साथै हवाई सुरक्षाको पनि प्रत्याभूत गर्दछ,” उनले भने, “साथै विमानस्थलमा जडित डिजिटल बोर्ड मार्फत यात्रुले पनि मौसमको जानकारी लिन सक्नेछन् ।”

यो प्रणालीले महेन्द्रनगर, डोल्पा, सुर्खेत, टिकापुर, धनगढी लगायत २० ओटा स्थानको मौसम जानकारी दिने उनले बताए ।

विशेषगरी यो प्रणालीले नेपालगञ्जबाट हुने दुर्गम क्षेत्रका उडानमा सहयोग पुर्‍‍याउने उनले बताए । हाल नेपालगञ्जबाट सुर्खेत, जुम्ला, डोल्पा लगायतका जिल्लामा सिधा उडान गर्दै आएको छ ।