‘नेपाली समालोचनामा उत्तरवर्ती चिन्तनको प्रभाव’ विषयक विमर्शआयोजना

काठमाडौँ । युवाकवि तथा प्रथम नेपाली समालोचक मोतीराम भट्टको १५७ औँ जन्मजयन्तीका उपलक्ष्यमा नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य (समालोचना र निबन्ध) विभागद्वारा ‘नेपाली समालोचनामा उत्तरवर्ती चिन्तनको प्रभाव’ विषयक विचार–गोष्ठी आयोजना गरियो ।
विचार–गोष्ठीलाई सम्बोधन गर्दै नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले नेपाली समालोचना मोतीराम भट्टले श्रीगणेश गरेको बताउँदै देश, काल, परिस्थिति र घटनाक्रमले सिङ्गो समाज, साहित्य र समालोचना प्रभावित हुने बताउनुभयो । कुलपति उप्रेतीले भन्नुभयो – “पश्चिमी दर्शनको स्रोत नै पूर्वीय दर्शन हो । हाम्रा समालोचनाहरू पूर्वीय दर्शनसँग जोडेर हेर्नुपर्छ । हामीले समालोचनाको नयाँ दृष्टिकोण निर्माण गर्नुपर्छ ।” उहाँले दर्शन/ दृष्टिकोणका क्षेत्रमा पूर्वीय समाजमा धेरै महत्वपूर्ण काम भएको बताउँदै हामीले त्यसको दायित्व लिन सक्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
यसै गरी उपकुलपति डा. जगमान गुरुङले नेपाली मौलिकता, संस्कार र संस्कृतिलाई समालोचनामा जोड्नुपर्ने बताउनुभयो । उपकुलपति गुरुङले भन्नुभयो– “अब हामीले हाम्रै इतिहास, समाज र संस्कृतिको समालोचना बोल्नुपर्छ । विश्वका विभिन्न वादहरूका बारेमा नेपाली समाजमा बहस, छलफल र अध्ययन भइरहँदा योगमायावाद हुन सक्छ कि सक्दैन ? यसतर्फ हाम्रो ध्यान जानु पर्दछ” उहाँले भन्नुभयो । ।
सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्यायले नेपाल प्रज्ञा–प्रतिष्ठानले समालोचना दिवस मनाउने बारेमा पनि सोचिरहेको बताउनुभयो । उपाध्यायले भन्नुभयो– “पूर्वीय दर्शन हाम्रो हो । प्राचीन ज्ञानको उद्गमभूमि हाम्रै देश हो । हाम्रै ज्ञान, सीप युरोप/अमेरिकाबाट विज्ञान बनेर आयो । हामी केवल उपभोक्तामा सीमित हुन पुग्यौँ ।”
कार्यक्रमका संयोजक समेत रहनुभएका विभागीय प्रमुख प्रा. डा. गोपीन्द्र फौडेलले स्वागत मन्तव्य व्यक्त गर्दै कार्यत्रमको औचित्यमाथि प्रकाश पार्नुभएको थियो । प्राज्ञ पौडेलले नेपाली समालोचना क्षेत्र व्यापक रहेको र हाल समालोचना खण्ड खण्डमा विभाजित भएको धारणा राख्नुभयो । पौडेलले भन्नुभयो– “अबको समालोचना र त्यसको गन्तव्य कता होला ? नेपाली समालोचनाको अबको दिशा के हुने भन्ने मोटामोटी निचोडमा पुगौँ भन्ने कार्यक्रमको उद्देश्य हो । यस कार्यक्रमले कम्तिमा त्यसको रुपरेखा कोर्ने विश्वास छ ।”
‘नेपाली समालोचनामा उत्तरवर्ती चिन्तनको प्रभाव’ विषयमा धारणा राख्दै प्रवचनकर्ता प्रा. डा. लक्ष्मणप्रसाद गौतमले वि. सं. २०४८ साल नेपाली समालोचनाको मानक विन्दु रहेको बताउँदै त्यसपछिका समालोचनामा चिन्तनको धरातल फराकिलो भएको बताउनुभयो । गौतमले भन्नुभयो– “समालोचना भनेको ज्ञानको निर्माण हो । समालोचकमा तेस्रो दृष्टि हुनु आवश्यक छ ।” उहाँले इन्द्रबहादुर राईले समालोचनामा ज्ञानको निर्माण गरेको बताउँदै हालका समालोचकहरूले त्यो दिशा पक्रन नसकेको बताउनुभयो । प्रा. डा. गौतमले नेपाली समालोचनाको मौलिक पाटोमा जोड दिँदै नेपाली हावापानी र माटो सुहाउँदो समालोचना हुनुपर्ने धारणा राख्नुभयो ।
प्राज्ञ सभा सदस्य एवम् सहप्राध्यापक डा. रजनी ढकालले मोतीराम भट्टबाट सुरु भएको नेपाली समालोचना विधाले १३० वर्ष पूरा गरेको बताउनुभयो । उहाँले यस बिचमा नेपाली समालोचना क्षेत्रले धेरै फड्को मारेको बताउनुभयो । डा. ढकालले भन्नुभयो– “अहिले समालोचना क्षेत्र व्यापक बनेको छ । अहिलेको समालोचनाले समाज रूपान्तरण, सांस्कृतिक विविधता, पहिचान र स्थानीयताजस्ता विविध विषयलाई सुन्दर ढङ्गले अभिव्यक्त गरेको छ ।” उहाँले पछिल्लो समय मार्क्सवादी समालोचना अत्यन्त शक्तिशाली ढङ्गले उपस्थित भएको बताउनुभयो ।
प्रवचनकर्ता डा. अम्बिका अर्यालले उत्तरआधुनिकतावादको ऐतिहासिक पक्षको विवेचना गर्दै विदेशमा पुरानो भइसकेको उत्तरआधुनिकतावादलाई नेपाली समाजले भने नयाँ मानेर अपनाइरहेको बताउनुभयो । अर्यालले भन्नुभयो– “समालोचना मूलतः मार्क्सवादी र गैरमार्क्सवादी दुईओटा धारामा विभक्त छ तर, मार्क्सवादीहरू उत्तरआधुनिकतावादको विरोध गर्दागर्दै पनि नजानिँदो ढङ्गले त्यही विषयमा कलम चलाइरहेका छन् ।” उहाँले उत्तरआधुनिकतावादलाई आलोचनात्मक चेतका साथ हेर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
प्रवचनकर्ता त्रयको धारणामा डा. मधुसूदन गिरी, प्रा. डा. भरत भट्टराई, डा. मुकुन्दशरण शर्मा, डा. धनप्रसाद सुवेदी, ज्ञानु अधिकारी, प्रा.डा. जे.एन. पाण्डे र उमेश न्यौपानेले जिज्ञासा तथा पूरक धारणा राख्नुभएको थियो । गोष्ठी प्रज्ञा–प्रतिष्ठानका आजीवन सदस्य निनु चापागाईंको अध्यक्षतामा सम्पन्न भएको थियो ।
कार्यक्रमको समापन गर्दै सभाध्यक्ष निनु चापागाईंले उत्तरसंरचनावाद नै उत्तरआधुनिकतावादको प्रस्थान विन्दु भएको बताउनुभयो । नेपाली समाजमा वि. सं. २०४५ सालमा डा. अभि सुवेदीले उत्तरआधुनिकतावाद भित्र्याएको बताउँदै चापागाईंले उत्तरआधुनिकतावाद कुनै पनि हालतमा नेपाली समाज अनुकूल नरहेको बताउनुभयो । चापागाईंले भन्नुभयो– “उत्तरआधुनिकतावादले द्वैध चरित्रको प्रतिनिधित्व गर्दछ । यो आफैँमा विरोधाभासपूर्ण छ । यसले सिद्धान्तको विरोध गर्छ तर आफैँ सिद्धान्त निर्माण गर्छ । केन्द्रको विरोध गर्छ तर आफैँ केन्द्र निर्माण गर्छ ।” उहाँले आज नेपाली समाजको आवश्यकतालाई मध्यनजर गरेर संश्लेषणसहितको समालोचना आवश्यक रहेकोमा जोड दिनुभयो ।
डा. बालाकृष्ण अधिकारीको सहजीकरणमा सम्पन्न भएको विचार–गोष्ठीमा लेखक, कवि तथा पत्रकार सन्तोष सिम्खडा प्रतिवेदकका रूपमा रहनुभएको थियो ।
कार्यक्रममा प्राज्ञ परिषद् सदस्यहरू प्रा. दिनेशराज पन्त, प्रा.डा. योगेन्द्रप्रसाद यादव, प्रा. डा. हेमनाथ पौडेल, प्रा. डा. उषा ठाकुर, माया ठकुरी, लक्ष्मी माली, डा. देवी नेपाल, त्रिभुवन विश्वविद्यालय नेपाली केन्द्रीय विभागका प्रमुख प्रा. डा. कृष्णप्रसाद घिमिरे, प्रगतिशील लेखक सङ्घ, नेपालका अध्यक्ष डा. मधुसूदन गिरी लगायतको आतिथ्य रहेको थियो ।