राजेशपायल राई र सङबुङले गरे सम्बन्ध विच्छेद

काठमाडौं । गायक राजेशपायल राई र पत्नी सङबुङ राईबीच कानुनी रुपमै सम्बन्ध विच्छेद भएको छ । चैत १५ गते काठमाडौं जिल्ला अदालतमा सम्बन्ध विच्छेद भएको अदालतका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले जानकारी दिए । न्यायाधीश पदमराज पाण्डेको एकल इजलासले सम्बन्ध विच्छेदको फैसला गरेको हो । गायक राईले सम्बन्ध विच्छेदको मुद्दा दायर गरेका थिए । तर कुन समझदारीमा दुईबीच सम्बन्ध बिच्छेद भयो, त्यो अदालतले खुलाएको छैन ।  २०७८ साल असोज महिनामा यी दुईबीच विवाह दर्ता भएको थियो ।

नक्सालमा रहेको राजेशपायलको घर सङबुङले पाएकी छन् । साढे तीन तलाको यो घरको मूल्य करिब ५ करोड पर्ने दाबी गरिएको छ । उक्त घरमा रहेका सबै चिजवस्तुहरू साङबुङकै स्वामित्वमा हुनेछन् । यसैगरी राजेशपायलले नगद ५० लाख रूपैयाँ पनि दिएका छन् । साथै, थप १ करोड रूपैयाँ भविष्यमा दिने लिखित प्रतिवद्धता राजेशपायलले जनाएका छन् । यस्तै काठमाडौंभित्रै रहेको एउटा घडेरी पनि सङबुङको भागमा परेको छ । राजेश पायल र सङबुङका एक छोरा छन् । उनीहरू औपचारिक विवाह नगरीकन लिभ इनमा बसिरहँदा पुत्रलाभ भएको थियो । छोरा करिब दुई वर्षको भएका छन् ।

डिभोर्सपछि उनी आमाको साथमा बस्नेछन् भने छोराको पढाइको खर्च राजेशपायलले व्यहोर्ने छन् । छोरालाई जुनसुकै स्कूलमा पढाए पनि बाबुले फी तिर्ने सम्झौता भएको छ । यसैगरी, छोराको भरणपोषणका लागि मासिक १५ हजार रूपैयाँ राजेशपायलले पत्नीलाई उपलब्ध गराउने सम्झौता गरेका छन् । फ्यानको रूपमा नजिकिएकी सङबुङलाई राजेशपायलले पछि प्रेमिका बनाए । आफूभन्दा २६ वर्ष कान्छी सङबुङसँग दुई वर्षसम्म राजेशपायलको गोप्य अफेयर चलेको थियो । उनीहरूको भेट हुँदा राजेशपायल ४० काटिसकेका थिए भने सङबुङ उमेरले नाबालिग नै थिइन् । त्यसपछि उनले सङबुङलाई घरमै ल्याएर राखेका थिए, तर विवाह भएको थिएन । लामो समयसम्म राजेशपायलले आफ्नो प्रेम जीवन मिडियाबाट लुकाउन सफल भएका थिए ।

राजेशपायलको नक्सालमा र शान्तिनगरमा दुईवटा घर छन् । उनले सङबुङलाई नक्शालको घरमा राखेका थिए भने शान्तिनगरमा परिवारका सदस्यहरू बस्थे । अहिले नक्सालको घर श्रीमतीलाई दिएपछि उनी शान्तिनगरमा बस्न थालेका छन् । राजेश र साङबुङले गत वर्ष साउनतिर पुत्रलाभ गरेपछि विवाह दर्ता गरेका थिए । बिहे दर्ता प्रमाणपत्रमा २०७८ असोज महिनामा उनीहरूको विवाह भएको उल्लेख छ । उनीहरूले काठमाडौं महानगरपालिका वडा नम्बर ३१ मा गत मंसिर २६ गते विवाह दर्ता गरेका थिए । तर, उनीहरूको सम्बन्ध सुमधुर रहन सकेन ।

उनीहरूबीच बारम्बार झगडा भइरहन्थ्यो । श्रीमान्‌ले आफूलाई मदिरा सेवन गरेर कुटपिटसमेत गर्ने गरेको साङबुङले निकटस्थसँग बताउने गरेकी थिइन् । तर, सार्वजनिक रूपमा यो जोडीले आफूहरूबीचको सम्बन्धबारे कहिल्यै मुख खोलेनन् । एकपटक सङबुङले टिकटकमा राजेश पायलसँगका केही भिडिओ पोष्ट गरेकी थिइन् । तर, तुरुन्तै हटाउन बाध्य भइन् । केही समयअघि श्रीमान्‌ले छोराको टाउकोमा तातोपानी खन्याइदिएको भनेर सामाजिक सञ्जालमा पोष्ट गरेकी थिइन् । त्यो पनि पछि हटाइन् ।

राजेशपायलले भने आफूमाथिका सबै आरोपहरू अस्वीकार गर्दै आएका छन् । राजेशपायल सङबुङसँग जीवन काट्ने मनस्थितिमा थिएनन् । उनले कतै पनि सार्वजनिक कार्यक्रममा साङबुङलाई श्रीमतीको दर्जा दिएर सँगै लिएर हिँडेको देखिएन । साङबुङ भने डिभोर्सका लागि तयार थिइनन् । बच्चाका कारण पनि उनीहरू एक अर्कासँग अलग्गिन सहज अवस्था थिएन । तर, अहिले आएर दुवैले सम्झौता गरेका छन् ।