आफ्नो फेसबुक अकाउन्ट ह्याक नहोस् भन्ने चाहनुहुन्छ ? यसो गर्नुहोस्

काठमाडौं । के तपाईँकाे फेसबुक अकाउन्ट सुरक्षित छ ? फेसबुकमा कस्ता सुरक्षाका विधि अपनाउनु भएकाे छ ?

अधिकांश ह्याकिङ घटना प्रयाेगकर्ताकै असावधानीका कारण हुने गरेका छन् । यसर्थ प्रयाेगकर्ता जिम्मेवार हुन सके सम्भावित जाेखिमबाट बेलैमा बच्न सकिन्छ ।

यसै सन्दर्भमा आज हामी आफ्नो फेसबुक अकाउन्ट कसरी सुरक्षति राख्न सकिन्छ भन्नेबारे जानकारी दिँदैछौं ।

अपरिचित व्यक्तिलाई तपाईंको फेसबुकमा आउन नदिनुहोस्

फेसबुकमा पोस्ट गरेका विभिन्न सामग्रीका माध्यमबाट तपाईंको पासवर्ड अनुमान गर्ने सम्भावना बढी हुन्छ । हामी मानिस स्वभावैले आफूले बढी प्रयोग गर्ने शब्द पासवर्डका रुपमा प्रयोग गरिरहेका हुन्छौं । त्यसबाहेक पनि हाम्रो अकाउन्टमा त्यस्ता थुप्रै संकेत हुन्छन्, जसले हामीले राखेको पासवर्डको जानकारी दिन सक्छन् ।

आफ्नो अकाउन्टमा अन्य व्यक्तिलाई तपाईंको अकाउन्टमा पहुँच नदिन तलका प्रक्रिया अपनाउनुहोस्:

–  सबैभन्दा पहिले फेसबुक एप खोल्नुहोस् ।

–  त्यसपछि दायाँपट्टि रहेको प्रोफाइल (तपाईंले फेसबुकमा राखेकाे प्रोफाइल पिक्चर)को आइकनमा रहेको तीन ओटा लाइनमा ट्याप गर्नुहोस् ।

–   स्क्रोल गर्दै तल गएर ‘सेटिङ एण्ड प्राइभेसी’को अप्सनमा ट्याप गर्नुहोस् ।

–   अनि तल देखिएको ‘प्राइभेसी शर्टकट’ (Privacy Shortcut) मा ट्याप गर्नुहोस् ।

–   यति गरेपछि प्राइभेसी अप्सनमा रहेको ‘सि मोर प्राइभेसी सेटिङ्स’ (See more privacy settings) मा ट्याप गर्नुहोस् ।

–   त्यसपछि अडियन्स एन्ड भिजिबिलिटीको अप्सनमा रहेको पोस्ट, स्टोरिज, रिल्सजस्ता अप्सनमा ट्याप गरेर फ्रेन्डको अप्सन छान्नुहोस् ।

–   यस्ता अप्सनमा गएर आफ्नो पोस्ट, स्टोरी वा रिल कसलाई देखाउने, कोबाट लुकाउने भन्ने अप्सन छान्न सक्नुहुन्छ ।

यति गरेपछि तपाईंले आफ्नो कन्टेन्ट कुन व्यक्तिलाई लुकाउन चाहनुभयो वा क-कसले मात्र देखोस् भन्ने चाहनुहुन्छ त्यो सेट गर्नुहोस् । यति गरेपछि तपाईंले आफ्नो अकाउन्ट केही हदसम्म सुरक्षित राख्न सक्नुहुन्छ ।

प्रोफाइल सुरक्षित राख्ने अन्य तरिका

टु-फ्याक्टर अथेन्टिकेसन अन गर्नुहोस्

अकाउन्ट सुरक्षित राख्ने सबैभन्दा उपयुक्त तरिका हो, टु-फ्याक्टर अथेन्टिकेसन ।

टु-फ्याक्टर अथेन्टिकेसन अन गर्दा तपाईंको युजरनेम र पासवर्ड पाइसकेपछि पनि लगइन गर्न लगइन कोड वा ओटीपी कोड राख्नुपर्ने हुन्छ । यस्तो कोड तपाईंसँग मात्र उपलब्ध हुन्छ । टु फ्याक्टर अथेन्टिकेसन कसरी अन गर्ने भन्नेबारे जान्न यहाँ क्लिक गर्नुहोस् ।

तपाईंको फेसबुक अकाउन्ट कुन एपमा लिङ्क छ, हेर्नुहोस्

हामीले जानअञ्जान आफ्नो फेसबुक अकाउन्ट प्रयोग गरी विभिन्न अकाउन्टमा लगइन गरेका हुनसक्छाैं । यस्ता थर्ड पार्टी एपमा फेसबुक लगइन गर्दा अकाउन्ट ह्याक हुने सम्भावना उच्च हुन्छ ।

त्यसकारण तपाईंको फेसबुक अकाउन्ट कुन एपमा लगइन भएको छ भन्ने यकिन गर्नुपर्छ । आफ्नो फेसबुक अकाउन्ट कुन एपमा लगइन छ भन्ने थाहा पाउन तलका प्रक्रिया अपनाउनुहोस्:

–   सबैभन्दा पहिले फेसबुक एप खोल्नुहोस् ।

–   त्यसपछि माथि दायाँपट्टि रहेको तीन ओटा लाइनमा ट्याप गर्नुहोस् ।

–   स्क्रोल गर्दै तल गएर सेटिङ एन्ड प्राइभेसीको अप्सनमा जानुहोस् ।

–   अनि ‘सेटिङ’ अप्सनमा जानुहोस् ।

–   यति गरेपछि स्क्रोल गर्दै तल गएर ‘एप एन्ड वेबसाइट’ मा जानुहोस् ।

–   त्यहाँ तपाईंको अकाउन्ट कुन-कुन एप तथा वेबसाइटमा कनेक्ट छ भन्ने देखाउँछ ।

–   आफूले हटाउन चाहेको एप वा वेबसाइटको अप्सनमा ट्याप गरेर हटाउन सकिन्छ ।

फेसबुकमा भएका सबै साथीहरू जाँच गर्नुहोस्

तपाईंले फेसबुकमा सधैं चिनेको मान्छे एड गर्नुभएको हुन्छ भन्ने हुँदैन । कतिपय यस्ता व्यक्ति एड भएका हुन्छन्, जसले तपाईंको अकाउन्ट ह्याक गर्न पर्खिरहेका हुन्छन् ।

त्यसैले बेलाबखत आफ्नो फेसबुकमा कुन कुन व्यक्ति एड भएका छन् र उनीहरूकाे सक्कली अकाउन्ट हाे कि हाेइन भनेर जाँच गर्नुहोस् । यदि अनावश्यक लागेको खण्डमा सोझै अनफ्रेन्ड वा ब्लक गर्नुहोस् ।

फेसबुकमा संवेदनशील सूचना नराख्नुहोस्

फेसबुकमा जुनसुकै कुरा पोस्ट गर्ने बानी नसुधारेसम्म तपाईंको अकाउन्ट सधैं जोखिममा भइरहन्छ ।

विशेषगरी आफूसँग कुनै कागजात छ भने हामी त्यसको फोटो खिचेर फेसबुकमा पोस्ट गर्न हतार गरिहाल्छौं । तर, यस्ता कागजातहरू शेयर गर्दा संवेदनशील सूचना बाहिर जाने सम्भवाना धेरै हुन्छ । तसर्थ फेसबुकमा कुनै पनि संवेदनशील सूचना नराख्नुहाेस् ।

सामाजिक सञ्जालका लागि छुट्टै ईमेल प्रयोग गर्नुहोस्

हुन त एउटै व्यक्तिले कति ईमेल अकाउन्ट व्यवस्थापन गर्न सक्छ र भन्ने प्रश्न आउन सक्छ । तर, तपाईंले आफ्नो फेसबुकका लागि प्रयोग गरेको ईमेल अन्त कहीँ प्रयोग गर्नुभएन भने अकाउन्ट ह्याक हुने जोखिम कम हुन्छ ।

विशेषगरी हामीले आफ्नो आधिकारिक ईमेल जुनसुकै पेजमा लगइन गर्न वा अकाउन्ट बनाउन प्रयोग गरिरहेका हुन्छौं । आफूले थाहा नपाएको वा असुरक्षित छ भन्ने लागेको साइटमा महत्त्वपूर्ण ईमेल अकाउन्ट प्रयोग नगर्नुहोस् ।

मेसेन्जरमा आएका लिङ्क सोझै क्लिक नगर्नुहोस्

मेसेन्जरमा कसैले कुनै लिङ्क पठायो भने हामी त्यस्तो लिङ्क खोल्न हतारिन्छाैं । आफ्नै मान्छे वा नजिकको साथीले पठाएको त हो, खोल्दा के हुन्छ भन्ने लागेको हुनसक्छ । तर, उनीहरूले पनि आफैंले जानीजानी पठाएका हुँदैनन् ।

उनीहरूलाई आएका लिङ्कमा क्लिक गर्दा उनीहरूको अकाउन्ट ह्याक हुन्छ र उक्त अकाउन्टबाट तपाईंलाई स्क्याम लिङ्क प्राप्त हुन्छ । यसर्थ तपाईंले फेसबुकमा आएका लिङ्कलाई आधिकारिक पुष्टि गरेर मात्र खोल्दा अकाउन्ट सुरक्षित हुन्छ ।

पासवर्ड परिवर्तन गर्नुहोस्

अकाउन्ट सुरक्षित राख्न सबैभन्दा बढी तपाईंले आफ्नो पासवर्ड ख्याल गर्नुहोस् । कम्तीमा हरेक हप्ता अकाउन्टको पासवर्ड परिवर्तन गर्नु उपयुक्त हुन्छ । नयाँ पासवर्ड राख्दा कम्तीमा आठ अक्षरको पासवर्ड राख्नुहोस् ।

पासवर्ड राख्दा कुनै शब्दहरू प्रयोग नगर्नुहोस् । उदाहरणका लागि ‘WpTZjV@#6’ यस्तो पासवर्ड राख्न उपयुक्त हुन्छ ।

  साभार   टेकपाना