‘म बराहक्षेत्रमा जलसमाधि लिदैँछु’ चिर्कटो लेखेर इटहरीका प्राध्यापक डा. राम्जी तिम्सिना बेपत्ता

घरमा उनी आफ्नी आमासँग बस्ने गर्छन् । खाना खान नआएको भन्दै आमाले खोज्न थालेपछि उनी बेपत्ता भएको खुलेको हो । धरानस्थित महेन्द्र बहुमुखी क्याम्पस र इटहरीको कोसी कलेजमा पढाउने तिम्सिना कलेजमा समेत अनुपस्थित भएपछि उनका सहकर्मीहरुसमेत खोजीमा जुटेका थिए ।

फेसबुकमा मंगलबार दिउँसो एउटा पोस्ट शेयर गरेका उनी त्यो दिन रातीसम्म सक्रिय रहेको उनका सहमकर्मीहरुले जनाएका छन् । बुधबार बिहानदेखि बेपत्ता उनको कोठामा एउटा चिर्कटो पाइएको छ । जसमा ‘म बराहक्षेत्रमा जलसमाधि लिदैँछु । अलबिदा । मिति २०८१।०३।१९ बुधबार बिहान ४ः१८ बजे’ लेखिएको छ ।

तिम्सिना बेपत्ता भएपछि प्रहरीमा निवेदन दिइएको छ । प्रहरीले उनको मोबाइल लोकेसन ट्रेस गर्नेदेखि स्थानीयहरुसँग सोधपुछका सबै तरिका अपनाएको छ । उनको मोबाइलको अन्तीम लोकेसन चतरा–बराहक्षेत्र आसपास पाइएको छ भने उनको मोबाइलमा अहिले पनि फोन लागिरहेको छ ।

तिम्सिना आफैँ सवारी चलाउँदैनथे । सार्वजनिक सवारीका साधनहरु पनि त्यती बिहानै नचल्ने हुँदा कहाँ गए भन्ने अन्योल छ ।

सरल र मिजासिला स्वभावका तिम्सिना शिक्षणका अतिरिक्त साहित्य र खोज अनुसन्धानमा सक्रिय छन् ।  उनी साहित्यततर्फ पनि समालोचनामा रूचि राख्छन् ।

प्रहरीले चतरा तथा बराहक्षेत्र मन्दिर आसपासका क्षेत्रमा खोजी भइरहेको जनाएको छ । उनले हराउनुअघि आफन्त वा सहकर्मीहरुलाई कुनै संकेत पनि दिएको नपाइएको उनका सहकर्मी तथा प्राध्यापक टिका आत्रेयले बताइन् ।

‘वहाँले भन्नुपर्ने शंका गरिएका सबै व्यक्तिहरुलाई सोध्यौं, मेसेज, इमेल हेर्न लगायौं, तर कतैबाट केही जानकारी आएको छैन,’ उनले भनिन् ।