आरोहण गुरुकुलमा नाटक ‘गच्छामि’ मञ्चन सुरु

काठमाडौँ- थापागाउँस्थित कुञ्ज थिएटर आरोहण गुरुकुलमा नाटक ‘गच्छामि’मञ्चन सुरु गरिएको छ । सोमबारदेखि मञ्चन सुरु गरिएको नाटकमा बुद्धको जन्म, जीवन र दर्शनलाई समग्र रुपमा प्रस्तुतगर्ने जमर्को गरिएको छ । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानद्वारा मञ्चन गरिएको नाटकको परिकल्पना तथा निर्देशन रंगकर्मी सुनील पोखरेलले गरेका छन् भने सह निर्देशनमा अर्का रंगकर्मी वीरेन्द्र हमाल छन् ।

शाक्यमुनि सिद्धार्थ गौतमको जन्म नेपालको लुम्बिनीमा भयो । जसले ज्ञानको खोजीकै लागि २९ वर्षमै दरबार, परिवार र सांसारिक मोहलाई त्यागेर भिक्षुको रूप धारणा गरे । भारतको बोधगयामा बुद्धत्व प्राप्त गरी उनले संसारमा दुःख, यसका कारण र निवारणबारे संसारलाई सिकाएर ‘गौतम बुद्ध’ बने । बुद्धको यिनै पृष्ठभूमि र परिवारमा श्रीमती यशोधराको त्यागलाई नाटकमा देख्न सकिन्छ । निर्देशक पोखरेलका अनुसार यो नाटक हाम्रो अज्ञानको परिणाम हो । उनकै भनाई अनुसार बुद्ध र बुद्ध जीवनीसम्बन्धी एउटै मूल लेखक र पुस्तकहरु छैनन् । विभिन्न पुस्तकमध्येमा पनि लेखक पुण्यप्रसाद प्रसाईंको पुस्तक ‘गौतम बुद्ध’लाई नाटकका लागि मुख्य आधार बनाइएको छ ।

नाटकमा रुपान्तरण हुँदा यशोधराको पाटोमा दर्शकले केही नौलो कुरा अनुभूति गर्न सक्छन् । नाटकमा देखिएका सबै दृश्यहरुमा बुद्धका समग्र जीवन समटिएका छैनन् । यद्यपि दुईजना सुत्रधार मार्फत दर्शकले बुद्धको जन्मदेखि मृत्युसम्मका पक्ष नाटकमा भेउ पाउन सक्छन् । प्रतिष्ठानले नाटक तथा संगीतको उत्थान र विस्तारका लागि यस्ता खाले कार्यक्रमहरु गर्दै आएको कुलपति नारायणभक्त श्रेष्ठ रायनले बताए । आफ्नो कार्यकालको अन्तिम समयमा प्रस्तुत भएको बुद्धको ज्ञानसम्बन्धी नाटकले सकरात्मक सन्देश दिने विश्वास ब्यक्त गरे ।

नाटकमा सुनिशा बजगाई, राज न्यौपाने, सुवास तिमल्सिना, राजेन्द्र कट्टेल, सौजन लिम्बू, मोहन राई लगायतका कलाकारहरुको अभिनय रहेको छ । प्रकाश परिकल्पना रंगकर्मी पोखरेल र राजकुमार पुडासैनी, मञ्च परिकल्पना रंगकर्मी हमाल, वेषभुषा तथा सामग्री व्यवस्थापन निशा पोखरेल, ध्वनि तथा संगीतमा उत्सवकुमार बुढाथोकी छन् । सोमबार बाहेक नियमित मञ्चन हुने गच्छामी नाटक करिव दुई हप्ता सम्म चल्ने छ ।

Comments are closed.