विद्युत् प्राधिकरण र इन्टरनेट सेवा प्रदायकबीच विवादले सर्वसाधारण मर्कामा

विद्युत् पोल तथा अप्टिकल फाइबरलगायत विद्युतीय संरचना प्रयोगको विषयलाई लिएर नेपाल विद्युत् प्राधिकरण र दूरसञ्चार सेवा प्रदायक संस्थाहरु बीच देखिएको विवादको असर सर्वसाधारणमा परेको छ ।

यी दुई पक्षबीचको किचलोले सर्वसाधारण उपभोक्ता अत्यावश्यकीय इन्टरनेट सेवा पाउनबाट वञ्चित हुने अवस्थामा पुगेका छन् । इन्टरनेट, टेलिफोन र केबल टिभी सेवा प्रदायक संस्थाले प्राधिकरणको विद्युत् पोलमा लाइन तान्छन् । कतिपयले प्राधिकरणकै फाइबर प्रयोग गर्छन् । तर उनीहरुले न त्यसको भाडा तिर्छन् न दुई पक्षबीच भाडा लिने–दिने सम्झौता भएको छ । भाडा सम्झौता नगरे वा सम्झौताअनुसार भाडा नतिरे लाइन काटिदिने भन्दै प्राधिकरण बेला–बेला सेवा प्रदायकलाई भन्छ । तर, उनीहरु इन्टरनेटजस्तो अत्यावश्यकीय सेवा बन्द गरिदिने भन्छन् । यो क्रम पाँच वर्षदेखि चलिरहेको छ

सोमबार दिउँसो इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान) ले पत्रकार सम्मेलन गर्दै जुनसुकै ठाउँमा जतिसुकै बेला इन्टरनेट सेवा प्रभावित हुने चेतावनी दियो । नेपाल विद्युत् प्राधिकरणले सेवा प्रदायकको ‘डाटा सेन्टर’ र ‘अपरेसनल प्वाइन्ट’ मा बिजुली काटिदिन थालेपछि त्यसको विरोधबारे जानकारी दिन सो पत्रकार सम्मेलन गरेको थियो ।

काठमाडौँ उपत्यकामा मात्र नभई बाहिर जिल्लामा पनि विभिन्न ठाउँमा प्राधिकरणले विद्युत् लाइन काटिदिएकोले जुनसुकै ठाउँमा जतिसुकै बेला इन्टरनेट सेवा प्रभावित हुने आइस्पानको भनाइ छ । विद्युत् प्राधिकरणको आफ्नै तर्क छ । पोलभाडा सम्झौता बिनै वर्षौँदेखि लाइन तानिरहेका र सम्झौताअनुसार भाडा नतिरेका सेवा प्रदायकलाई पटकपटक पत्र काटेर भाडा सम्झौता गर्न र बक्यौता तिर्न भनिए पनि उनीहरुले अटेर गरेपछि बाध्य भएर बिजुलीको लाइन काट्नु परेको प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालय प्रमुख मनोज सिलवाल बताउँछन् ।

“केही सेवा प्रदायक कम्पनीले भाडा तिरिरहेको छन् । तर अधिकांशले भाडा सम्झौता बिनै इन्टरनेट र केबल टिभीका लाइन प्राधिकरणका पोलबाटै तानिरहेका छन् । पटकपटक भाडा सम्झौता गर्न बोलाइएपनि अटेरी गरेपछि प्राधिकरणले उनीहरुको कार्यालयको बिजुलीको लाइन काट्न थालेको छ”, सिलवालले भने । एक सातायता प्राधिकरणले धमाधम दूरसञ्चार सेवा प्रदायकको बिजुली लाइन काटिदिए पछि उनीहरु भाडा सम्झौता गर्न आएको पनि उनको भनाइ छ ।

त्यस्तै, प्राधिकरणका कारण इन्टरनेट सेवा प्रभावित हुने अफबाह सेवा प्रदायक कम्पनीले फैलाएको सिलवालको तर्क छ । “हामीले लाइन काट्न थालेपछि केही कम्पनी आएर भाडा सम्झौता गरेका छन् । उनीहरुलाई हामीले एक महिनाभित्र नेटवर्क (पुष्टि) भेरिफिकेसन गरिसक्न भनेका छौँ”, उनले भने ।

विद्युत् प्राधिकरणले पुस ८ गते आइस्पानका अध्यक्ष रहेका सुधिर पराजुलीको कम्पनी सुबिसु केबलनेट लिमिटेडको कार्यालयमा बिजुली काटिदिएको थियो । विद्युत् कटौती पछि सुबिसुले भाडा सम्झौता गरेको र एक महिनाभित्र आफ्नो नेटवर्क भेरिफिकेसन गरी प्राधिकरणले तोकअनुसारको भाडा तिर्छु भनेर सम्झौता गरेको निर्देशनालय प्रमुख सिलवालले बताए ।

“सुरुमा सुबिसुको विद्युत् लाइन काट्यौ । उसले आएर सम्झौता गर्यो । अहिले ज–जसले तिरेको पोल भाडा तिरेका छैनन्, उनीहरुको लाइन काटेपछि सम्झौतामा आउन थाले”, उनले भने । सुबिसुले आफ्नो सेवा सञ्चालन गरेदेखि नै विद्युत् प्राधिकरणसँग पोल भाडा सम्झौता गरेको छैन । सम्झौता बिनै पोल र फाइबरलगायत संरचना प्रयोग गर्ने र भाडा बक्यौता तिर्न बाँकी दूरसञ्चार सेवा प्रदायकको लाइन प्राधिकरणले काटिरहेको सिलवालको भनाइ छ ।

पाँच वर्षदेखिको विवाद

विद्युत प्राधिकरण र टेलिफोन, इन्टरनेट तथा केबल टिभी सेवा प्रदायक कम्पनीबीच विद्युत पोल र अप्टिकल फाइबरलगायतका विद्युतीय संरचनाको भाडाको विषयलाई लिएर पाँच वर्षदेखि विवाद चलिरहेको छ । अहिले अधिकांश टेलिफोन, इन्टरनेट तथा केबल टिभी सेवा प्रदायकले भाडा सम्झौता बिनै आफ्नो संरचना प्रयोग गरिरहेको विद्युत् प्राधिकरणको दाबी छ ।

दूरसञ्चार कम्पनीले प्राधिकरणको संरचना प्रयोग गर्दा भाडा तिर्नुपर्ने विषयको विवाद २०७५ असारयता बल्झिन सुरु भएको हो । ‘नेपाल विद्युत् प्राधिकरण अप्टिकल फाइबर केबल सेवा सञ्चालन निर्देशिका २०७३’ जारीपछि प्राधिकरणले दूरसञ्चार सेवा प्रदायक कम्पीसँग पोल र अप्टिकल फाइबरको भाडा उठाउन थाल्यो । सोही निर्देशिकाबमोजिम प्राधिकरणले २०७५ असारमा पोल र विद्युतीय संरचना उपयोग गर्दा लाग्ने भाडादर बढायो । तर सेवा प्रदायकले त्यसको विरोध गरे । दुई पक्षबीच विवाद बढ्दै गएपछि सेवा प्रदायकले प्राधिकरणसँग भाडा सम्झौता गर्न छाडे । उनीहरुले प्राधिकरणको संरचना प्रयोग गरेपनि त्यसको भाडा तिरेनन् । प्राधिकरण आफैले यो विषय सुल्झाउन सकेन ।

पोल र अप्टिकल फाइबरको भाडादर महँगो भएको भन्दै दूरसञ्चार सेवा प्रदायकले विरोध जारी राखेपछि २०७६ मङ्सिर १ गतेको प्राधिकरण सञ्चालक समितिले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका तत्कालीन सहसचिव राधिका अर्यालको संयोजकत्वमा अध्ययन समिति बन्यो । समितिमा सेवा प्रदायक कम्पनीका प्रतिनिधि नरहेको भन्दै उनीहरुले त्यसको विरोध गरे । तर सोही प्रतिवेदनका आधारमा प्राधिकरणले २०७७ भदौमा पोल र अप्टिकल फाइबरको भाडादर घटायो ।

सेवा प्रदायकले प्राधिकरणको विरोध गर्न छाडेनन् । उनीहरुले विसं २०७५ असारदेखि २०७७ भदौसम्म बढाइएको भाडादर आफूहरुलाई मान्य नहुने भन्दै विरोध गरिरहे । यही विवादका कारण एकातर्फ पुरानो बक्यौता बढ्दै गयो । अर्कोतर्फ दुई पक्षबीच नयाँ भाडा सम्झौता हुन सकेन ।

भाडा सम्झौता बिनै पोल र अप्टिकल फाइबर प्रयोग गरेको तथा बक्यौता भाडा नबुझाएको गएको साउनपछि विद्युत् प्राधिकरणले धमाधम सेवा प्रदायकका लाइन काट्यो । इन्टरनेट र सूचना प्रविधिजस्तो अत्यावस्यक सेवामा प्राधिकरणबाटै अवरोध भएको भन्दै विरोधपछि अर्को अध्ययन समिति बनाएर विवाद टुङ्ग्याउने प्रयास गरियो ।

भाडादरबारे विवाद मिलाउन ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको समन्वयमा २०७८ असोज १७ गते एक सुझाव कार्यदल गठन भयो । सञ्चार मन्त्रालयका तत्कालिन सहसचिव  विनोदप्रकाश सिंहको संयोजकत्वमा गठित कार्यदलले २०७५ असारदेखि २०७७ भदौसम्मको भाडादर बढी देखिएकाले त्यसको समायोजन गरिनुपर्ने सुझाव सहितको प्रतिवेदन बुझायो ।

“२०७५ साउनदेखि २०७७ असारसम्मको दुई वर्षे अवधिको भाडादर फरक र स्वभाविक भन्दा बढी देखिएकाले समायोजनका लागि सिफारिस गरिएको छ”, प्रतिवेदनमा भनिएको छ । सो अवधिको भाडादर समायोजन गरेर मात्रै इन्टरनेट, टेलिफोन तथा केबल टेलिभिजन सेवा प्रदायकबाट भाडा बक्यौता असुल उपर गरिनुपर्ने प्रतिवेदनको सुझाव थियो । प्राधिकरणले यो प्रतिवेदन कार्यान्वयन गर्न नमानेको आरोप सेवा प्रदायकले लगाएका छन् ।

कति छ बक्यौता भाडा तिर्न बाँकी ?

सञ्चालनमा रहेका कुन दूरसञ्चार कम्पनीले विद्युत् प्राधिकरणको कति संरचना प्रयोग गरेका छन् र कति भाडा तिर्न बाँकी छ भन्ने स्पष्ट तथ्याङ्क छैन । सेवा प्रदायकले लाइन पोल र अप्टिकल फाइबरको संख्या कति छ र त्यसको बक्यौता भाडा कति हुन्छ भन्ने स्पष्ट नरहेको प्राधिकरणको ग्राहक सेवा निर्देशनालयका प्रमुख सिलवाल बताउँछन् । “प्राधिकरणसँग अनुमति लिएर लाइन तानेको भए पो बक्यौता कति भन्ने हुन्थ्यो । अधिकांश कम्पनीले अनुमति नलिइकनै आफूखुसी लाइन तानेका छन् । जसकारण हामीसँग स्पष्ट तथ्याङ्क नै छैन”, उनले भने ।

कति क्षेत्रफलमा इन्टरनेट वा केबल टिभीको लाइन विस्तार भएको हो भन्ने बारे व्यवसायी स्वयंले घोषणा गर्नुपर्ने र विद्युत् प्राधिकरणले त्यसलाई रुजु ९जोइन्ट भेरिफिकेसन० गरिसकेपछि मात्रै भाडा कति भन्ने स्पष्ट हुने सिलवालको भनाइ छ ।

अघिल्लो साता विद्युत् प्राधिकरणले सुबिसुको लाइन काटिदिएपछि अर्को सरकारी निकाय नेपाल दूरसञ्चार प्राधिकरणले भने त्यसमा आपत्ति जनायो । दूरसञ्चार प्राधिकरणले एक सूचना जारी गर्दै इन्टरनेट जस्तो अत्यावश्यकीय सेवामा सरकारी निकायबाटै अवरोध हुनु दुःखद भएको उल्लेख गरेको थियो ।

“दूरसञ्चार ऐन २०५३ अनुसार कसैले यस्तो सेवा प्रवाह अवरुद्ध गरेमा दण्डनीय हुने व्यवस्था छ । यसरी दूरसञ्चार सेवा अवरुद्ध गर्ने कार्यप्रति यस प्राधिकरण गम्भीर दुःख व्यक्त गर्दछ । राज्यको अति आवश्यक दूरसञ्चार सेवा अबरुद्ध गर्ने जोकोहीलाई कानुनी कारबाही गर्न र त्यस्ता पूर्वाधारको सुरक्षा गर्न सम्बन्धित सबैलाई अनुरोध गर्दछौँ ।”

दूरसञ्चार प्राधिकरणले भनेको थियो । विद्युत् प्राधिकरणले दूरसञ्चार सेवा प्रदायक कम्पनीको विद्युत् लाइन काटीदिँदा धेरै स्थानमा इन्टरनेट सेवा अवरुद्ध हुन पुगी बैंकिङ, हवाइलगायत अत्यावश्यक सेवा अवरुद्ध हुन पुगेको उसको भनाइ छ ।

रासस

Comments are closed.