बाढी र पहिरोका कारण देशका १४ राष्ट्रिय राजमार्ग, १७ वटा सहायक सडक अवरुद्ध तथा १२७ वटा सडक एकतर्फी सञ्चालनमा

काठमाडौं । बाढी र पहिरोका कारण देशका १४ राष्ट्रिय राजमार्ग अवरुद्ध भएका छन् । त्यस्तै १७ वटा सहायक सडक अवरुद्ध छन् भने १२७ वटा सडक एकतर्फी सञ्चालनमा रहेको सडक विभागले जनाएको छ ।

उत्तर–दक्षिण लोकमार्गको तानसेन-रिडी-कोरोला सडक अवरुद्ध भएको छ । त्यस्तै डुम्रे-बेंसीसहर-चामे सडक लामो समयदेखि अवरुद्ध भए पनि सञ्चालनमा आउन सकेको छैन ।

तनहुँमा पर्ने भीमाद-रामपुर-आरुङखोला सडकको अवरोध हटाउन डोजर परिचालन गरिएको छ । एकतर्फी सञ्चालनमा रहेको साँफेबगर-मार्तडी-कोल्टी सडक दुईतर्फी सञ्चालनको तयारी भएको छ भने कर्णाली राजमार्गको मान्मा-नाग्मा-जुम्ला खण्डलाई पनि दुईतर्फी बनाउने प्रयास भइरहेको सडक विभागले जनाएको छ ।

यस्तै अविरल वर्षाका कारण ६ वटा पुलमा पूर्ण क्षति पुगेको छ । पूर्व-पश्चिम राजमार्गको महेन्द्रनगर सुधा खोलास्थित क्षतिग्रस्त पुल मर्मतका लागि ७० लाख रुपैयाँभन्दा बढी लाग्ने आकलन विभागले गरेको छ ।

त्यस्तै कोशी सडक आयोजनाको खाँदबारी जोड्ने पुलमा पनि क्षति पुगेको छ । पुष्पलाल मध्य पहाडी राजमार्ग आयोजना कार्यालयको फिदिम खण्डमा मात्र तीनवटा पुल क्षतिग्रस्त भएको छ । विभागले वर्षा र बाढी पहिरोका कारण १० करोड ६५ लाख रुपैयाँभन्दा बढीको क्षति भएको जनाएको छ ।