मतदान प्रक्रियाबाट एकीकृत समाजवादीको पदाधिकारी चयन, रामकुमारी झाँक्री पराजित

काठमाडौं । केन्द्रीय कमिटी बैठकले सर्वसम्मत रूपमा चयन गर्न नसकेपछि एकीकृत समाजवादीको पदाधिकारी मतदान प्रक्रियाबाट चुनिएको छ ।
मतदान प्रक्रियाबाट चार जना उपाध्यक्षमा माधव नेपाल निकट मानिएका डा. गङ्गालाल तुलाधर, जगन्नाथ खतिवडा र प्रकाश ज्वाला निर्वाचित भएका छन् । माधव नेपालको गुटमा नपर्नुभएका भानुभक्त जोशी मात्रै उपाध्यक्षमा निर्वाचिन हुनुभएको छ । तुलाधरले १८९, खतिवडाले १६१, जोशीले १५६ र ज्वालाले १४५ र मत पाउनु भएको छ ।
महिला उपाध्यक्षमा रामकुमारी झाँक्री पराजित हुनुभएको छ । उहाँलाई जयन्ती राईले पराजित गर्नुभएको छ । एमाले फुटाएको बेला माधव नेपाललाई हात समातेर डोर्‍याउने झाँक्री यस पटक माधवको लिष्टमा पर्नुभएन र राईसँग पराजित हुनुभयो । राईले १९९ मत पाउँदा झाँक्रीले जम्मा ११२ मत मात्र पाउनुभयो ।
मधेस क्लष्टरमा रामचन्द्र झा धर्मनाथप्रसाद साहसँग पराजित हुनुभएको छ । साहले १६४ मत पाउँदा झाले १४४ मत पाउनुभएको छ ।
चार जना उपमहासचिमा सबैभन्दा बढी मत ल्याएर मेटमणि चौधरी निर्वाचित हुनुभएको छ । उहाँले १५८ मत पाउनुभएको छ । १९ जना प्रतिस्पर्धी रहेको उपमहासचिव पदमा रामकुमार खड्का र गरिमा शाह समान १०७ मत पाए पाउनुभएको छ । त्यस्तै राजेन्द्र राई १०६ मत पाएर उपमहासचिवमा निर्वाचित हुनुभएको छ ।
पाँच सिटको लागि कूल २६ जना प्रतिस्पर्धी रहेको सचिवमा शेरबहादुर कुँवरले सर्वाधिक १५३ मत ल्याउनु भएको छ । त्यस्तै सोमप्रसाद पाण्डेले १४१, श्रीनाथ बरालले १०७, सावित्रीकुमारी भुसाल १०६ र चन्द्रबहादुर शाही ९१ मत पाएर निर्वाचित हुनुभएको छ ।
यसैगरी समावेशी सचिवमा बलदेव चाैधरी र गणेश बिक निर्वाचित हुनुभएकाे छ । वरिष्ठ उपाध्यक्षमा भने राजेन्द्र पाण्डेकाे मात्रै उम्मेदवारी परेकाे थियाे । पाटी अध्यक्ष र महासचिवमा अधिवेशनकै बेला माधव नेपाल र घनश्याम भुसालकाे नाम घाेषणा गरिएकाे थियाे ।