मोदीसँगको भेटपछि भारतमा टेस्ला र स्टारलिङ्क भित्र्याउने योजनामा एलन मस्क

काठमाडौं । टेस्लाका प्रमुख कार्यकारी निर्देशक (सीईओ) एलन मस्कले भारतमा सकेसम्म चाँडो लगानी गर्न खोजिरहेको र आफ्नो विद्युतीय कार निर्माता कम्पनी भित्र्याउन चाहेको बताएका छन् । अमेरिकाको भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटपछि मस्कले यस्तो अभिव्यक्ति दिएका हुन् ।

उनले मङ्गलबार मोदीसँग निकै राम्रो कुराकानी भएको र आफूहरूले केही चिजको घोषणा गर्न धेरै समय नलाग्ने कुरामा आशावादी रहेको बताएका छन् । कार निर्मातालाई दक्षिण एसियाली बजारमा भित्र्याउन टेस्ला र नयाँ दिल्लीबीचको संवाद पुनः सुरु भएको बेला यो भेटवार्ता भएको हो ।

स्पेस एक्सका प्रतिनिधिहरूले स्याटलाइट इन्टरनेट सेवा स्टारलिङ्कको प्रबन्ध मिलाउन केही साता अघि मात्र भारतको टेलिकम मन्त्रालयसँगको कुराकानी फेरि अगाडि बढाएको बताइएको छ । मस्कले वर्षौंदेखि टेस्लालाई भारतमा भित्र्याउन खोजिरहेका छन् ।

यसअघि उनले आफ्नो कार निर्माता कम्पनीलाई सन् २०२१ अगावै उक्त देशमा लैजाने बताएका थिए । तर दिल्लीले पर्याप्त प्रोत्साहन दिने प्रतिवद्धता नजनाइदिंदा उक्त प्रयासले पूर्णता पाउन सकेको छैन । मस्कले गत वर्ष मात्रै सुरुमा बिक्री र आयातित कारका लागि सेवा उपलब्ध नगराएसम्म भारतमा उत्पादन कारखाना नराख्ने बताएका थिए ।

त्यसको एक वर्षभन्दा पछि भारतले इलेक्ट्रिक कार निर्माताले देशको दक्षिणी भेगमा प्लान्ट खोल्ने योजना बनाएको बताएको छ । मस्कले मङ्गलबार आफू मोदीको ठूलो फ्यान भएको बताएका थिए ।

“भारतसँग विश्वका कुनै पनि ठूला देशभन्दा फराकिलो प्रतिवद्धता छ । मोदीले भारतलाई निकै ख्याल गर्नुहुन्छ किन भने उहाँले हामीलाई भारतमा महत्त्वपूर्ण लगानीका लागि जोड गरिरहनु भएको छ, जुन हामीले पनि गर्न चाहेकै कुरा हो,” मस्कले भनेका छन्, “केवल हामी त्यसका लागि उचित समयको पर्खाइमा छौं ।”

मङ्गलबार मस्कले आफू स्टारलिङ्कलाई समेत भारतमा भित्र्याउन खोजिरहेको बताए । तर त्यसका लागि निश्चित समयसीमा भने उनले खुलाएनन् । स्पेसएक्सको अङ्गको रूपमा रहेको स्टारलिङ्क सन् २०२१ को अन्त्यतिर भारतमा आफ्नो व्यवसाय दर्ता गराएको थियो र स्थानीय व्यवसाय सञ्चालनका लागि शीर्ष तहमा कार्यकारीलाई नियुक्त गरेको थियो ।

तर भारतले दक्षिण एसियाली मुलुकमा सञ्चालनको लाइसेन्स नै नपाएको भन्दै स्टारलिङ्कको शाखालाई डिभाइस आयात गर्ने कार्य रोक्न आदेश दिएपछि कार्यकारीको रूपमा नियुक्त भएका सञ्जय भारगभलाई बर्खास्त गरिएको थियो ।