व्यंग्य निबन्ध: भैरव अर्याल

अन्तर्राष्ट्रिय भ्यागुता-सम्मेलन

आँखाअगाडि भ्यागुता-सम्मेलनको अलौकिक दृश्य नाचिरहेकै थियो, तर के गर्नु ? ‘बूढी लागी रमितामा स्यालले कुखुरो बोक्यो’ भनेजस्तो होला भन्ठानेर दौडेँ लुखुरलुखुर ।

आजको दुनियामा बेकारलाई भन्दा बढ्ता पीर पुत्रकारलाई हुन्छ, ट्याक्सीकारको भन्दा बढ्ता धपेडी पत्रकारलाई हुन्छ । त्यसमाथि पनि कसैले पुत्रकारिताको आफ्नो दैनिक टन्टा टार्न पत्रकारिताको पेसा लियो भने त्यसको जीवन कति टाटेपाङ्ग्रे होला आफैँ सोच्नोस् । त्यसमाथि पनि अझ आफूचाहिँ त दिनभर झ्याङप्वाला साइकिलको भरमा पत्रकारिताको सेवा गर्नुपर्ने र साँझ-सबेर प्याङ टकटकाएर पुत्रकारिताको मेवा चाट्नुपर्ने नेपाली पत्रकार ! त्यसैले मेरो दिमाग रातदिन यस्तरी चक्कराइरहन्छ- मानौं मस्तिष्कको पर्दामा कुनै सिनेमाको रिल घुम्दै छ । एक सेकेन्ड विश्वनेताहरूको निरस्त्रीकरण भाषण सम्झन पुग्छु त अर्को सेकेन्ड बेलुकालाई जोर्नुपर्ने उसिनाको रासन । एकछिन जेनेभा सम्झौता त अर्को छिन पुत्र र पुत्रकी महतारीको सम्बन्धविच्छेद ।

कुरो तात्तातै हो, अस्ति मात्रको । अखिल नेपाल परिवार समस्या समाधान सम्मेलनको रिपोर्टिङ सकेर म घर फर्कदै थिएँ, कमलपोखरीको किनारमा एउटा बच्चा रोएजस्तो लाग्यो । निकैबेर त आफ्नो साइकिल चुइकेको होला भन्ने ठानी मैले वास्तै गरिनँ, पर पुगेपछि पो देखियो एउटी युवती परिवार समस्या समाधान गर्दै रहिछन् । हलेदो भन्ने चिनेपछि किन कोट्टयाइरहने भन्ने विचारले म अघि बढ्दै थिएँ, तर उनको अभागले हो कि आफ्नै अभागले हो मेरो साइकिलको ट्युब यस्तरी पड्किदियो, मानौं आफ्नै टाउकामा बम पड्केजस्तै गरी । हत्त न पत्त पोको झ्यासमा फ्याँकेर पुलुक्क हेरिन् उनले मैतिर आँखा जुध्नासाथ मैले उनलाई चिनिहालें । पोहोरका वर्ष इन्टरन्यासनल फर्वार्ड लेडी कन्फ्रेन्समा भाग लिन जाने प्रतिनिधिमण्डलको नेतृत्व उनैले गरेको र देशका केटाकेटीको सेवा गर्न जिन्दगीभर अविवाहिता रहनेछु भनी उनले अस्ति मात्र रानीपोखरीको डिलमा प्रवचन दिएकी थिइन् । त्यसैले उनलाई मजस्ता पत्रकारले नचिन्ने त कुरै रहेन ।

 

तपाईलाई थाहै छ, पत्रकारले कति देखेको कुरा लेख्न पाउदैन, कति लेखेको कुरा देख्न पाउदैन । देखेको जति सबै लेख्न पाउने हो भने अखबारहरू खालि किचाकिच, थिचाथिच, रिसारिस, ईखाईख, विषाविष इत्यादि खवरले भरिन्थे । लेखेको कुरा सबै देख्न पाउने हो भने सुधारैसुधार, विकासैविकास मित्रतैमित्रता, आदर्शेआदर्श साँच्ची मान्छेको दुनियाँ देवताको जस्तो देख्त पाइन्थ्यो । त्यसैले उनको त्यो समस्या समाधानको पुरुषार्थपट्टि आधुनिक पत्रकारले किन ध्यान दिने ?

जहानबच्चा नियोजन युगको माग हो, तरिका बेग्लै भयो भन्दैमा उनले अपराध गरेको भन्नु कसरी ? जमाना र जवानीअनुसार उनले आफ्नै ढङ्गको पद्धति अपनाएको पनि त हुन सक्छ ।

अलि वर आउँदै थिएँ, एउटा झ्यामल्याङझुमलुङ परेको मान्छेलाई रमनले हपार्दै रहेछ । मलाई पनि हपार्छ कि भनेर खुट्टा कमाउँदै साइकिल घिच्च्याइरहेको थिएँ, तर म साइकिल चढ़वा भलादमीलाई समात्न उसको के तागत ? बरु मलाई एउटा मेन न्युज (प्रमुख खबर) पो मिल्यो, शीर्षक पनि कल्पिहालें- ‘पुलिस र डाँकाको मुठभेट’ । ऊ डाँका थियो वा थिएन त्यो छुट्टयाउने भारा त पुलिसको पो हो । म त एक पत्रकार, मलाई समाचार भए पुगिहाल्छ ।

आखिर के भयो र अचेलको दुनियाँमा जुनसुकै देशमा होस्, सरकारका निम्ति सी.आई.डी. को रिपोर्ट ब्रह्मवाक्य, जनताका निम्ति अखबार र रेडियोको खबर ब्रह्मवाक्य भएको कुरा लुकाउन, नभएको कुरा फर्माउन, सेतालाई रङ्गाउन, सोझोलाई बङ्ग्याउन सी.आई.डी. र संवाददाता यति सिपालु हुन्छन् कि साँच्चै भनूँ भने आज विश्वको राजनीति नै यिनै दुई थरीको हातमा छ ।

मेरा एक जना ठट्याउला साथी भन्थे- कुन्नि कुनकुन दुई देशका सीमामा दुवैतिर आआफ्ना ब्यारेक थिए रे । एक दिन बिहान उतापट्टिको एउटा सी. आई.डी. र एउटा संवाददाता सीमाकै क्षेत्रतिर घुम्दै रहेछन् । त्यसै बेला एउटा युनिफर्म लगाएको यतापट्टिको सिपाही हातमा के हो लिएर उतापट्टि दौडिएछ । यो देख्नासाथ सी.आई.डी. ले ठानामा र संवाददाताले कार्यालयमा फोन गरेछन्- “फलानो देशको सैनिक हाम्रो सीमाभित्र पस्यो ।” फोन पाउनासाथ पुलिसको जिप उहाँ पुग्यो । पत्रकारले हत्त न पत्त अफिसमा पुगेर भन्यो- “लौ पुलिस पनि आइपुग्यो ।” समाचार साँच्चै हो । एकछिनपछि प्रभात संस्करण पत्रिकाहरूमा पिटियो- “फलानो देशको सैनिकद्वारा फलानो देशको सीमा अतिक्रमण ।”

पत्रिकामा यसरी छापिएपछि सी.आई.डी.को रिपोर्टले पनि पुष्टि पायो । नेताहरूले हतारहतार वक्तव्य छाँटे, पार्टीहरूले हतारहतार सङ्कटकालीन बैठक बोलाएर विरोध प्रस्ताव पास गरे । सम्पादकहरूले हतारहतार सम्पादकीय लेखे रेडियोहरूले हतारहतार सम्पादकीय समीक्षा फलाके । मित्र देशहरूमा खलबली चल्यो, हामीजस्ता बुज्रुकले रेस्टुराँमा चप चपाउँदै गफ लडाउने मौका पायौँ । आखिर छानबिन गर्दा बुझियो, कुरोको चुरो के रहेछ भने एउटा सिपाहीलाई आउँरगत परेको रहेछ, बिहान ड्युटीमा जान निस्केको दिसाले च्यापेछ, तर चर्पी रहेछ भरिभराऊ, त्यसैले ऊ लोटा लिएर हतपतमा जता पायो उतै कुदेको रहेछ । अब भन्नोस्, संवाददाता र सी.आई.डी. को महत्त्व कत्रो रहेछ ! त्यसैले त्यो झ्याम्लाङझुम्लुङ गरी हिंड्ने रमन्ते र रमनको भेटघाटलाई मैले समाचार दिने निधो गरेँ ।

आज बिहान दाउरा गुइँठा वितरण सम्मेलनमा विभिन्न विद्वान् तथा प्रतिनिधिले दिएका भाषणहरू पनि मैले लेख्न भ्याएको थिइनँ । त्यसैले अब ‘अकरम्-बकरम्, सबै एकैचोटि भकुरम’ भनेर हतारहतार बसें बाकसमाथि । पुत्रकी महतारीलाई अर्डर गरें “लौ मलाई अहिले भातसात खाने फुर्सद छैन, एक चिलिम अमिलो तमाखु ल्याइदेऊ ।” महतारीको प्रतिनिधित्व गर्दै सुतिरहेको पुत्रले जबाफ दियो- “हुक्का त मुआले चिरेर बालिदिनुभयो बुबा !” अचम्म मानी महतारीचाहिंको मुखतिर हेरेको त रुन्चे मुख लगाएर उनले नाक बजाइन्- “दाउरा कतै केही पाइएन अनि… ।” चुपो लागेर आफू थालें दाउरा गुइँठा वितरण सम्मेलनको भाषण र प्रस्तावहरूको खबर बनाउन ।

 

राति दुई बजेपछि तन्ना फाटेको बिछ्याउनामा तन्द्रङ्ग पल्टिएँ । चीनको कान्तिमा फर्मोसाबाट उधोतिर झरेका गुरिल्लाझैै भित्ताभित्ताबाट उडुसहरू ओर्लिरहेका थिए । द्वितीय विश्वयुद्धको बेला जापानमाथि हुनहुनाएका लडाकू विमान लामखुट्टेहरू टुकीको पिलपिलमा घुनघुनाइरहेका देखिन्थे । मेरो सोचाइको रफ्तार भोलिको कार्यक्रमको रूपरेखा र रुटिन खिच्दै थियो- छ बजे स्वास्थ्यमन्त्रीद्वारा सफाइ आन्दोलनको उदघाटन, दस बजे माछापोखरीको शिलान्यास, साँझ भारतीय भवनमा नेपाली कविहरूको गोष्ठी, अमेरिकन दूतावासमा हिमाली फिल्म प्रदर्शन, बेलाइती बैठकमा परराष्ट्रमन्त्रीको राजकीय भोज, भानुभक्तको सालिकनेर रवीन्द्रजयन्ती । ओहो, कस्तो व्यस्त कार्यक्रम । यो व्यस्तताभित्र कति गुदी छ, यो कसले सोचोस् यो औपचारिकताभित्र कति व्यय र कृति आय छ त्यसको हिसाब कसले गरोस् ।

म त पत्रकार नढाँटीकन भने आज मानिसको सारा जङ्ग समिति बनाउनुमा सीमित भएको देख्छु, सारा विद्वत्ता प्रस्ताव पास गर्नमा । म मात्रै पाँचओटा समितिमा सम्मिलित छु । टोलको टट्टीगृह निर्माण समितिका बटुलर अध्यक्ष, राष्ट्रिय पोसाक परिषद्को महामन्त्री, कामखजुवा क्लबको प्रचारमा आला कांचा उद्धारमण्डलको सहसचिव र अराष्ट्रिय तत्त्व चट्कने दलको कोषाध्यक्ष । यसैले होला, मेरा पुत्रले पनि गुच्चा खेल्ने भएभरका साथी गुच्चा खेल समिति बनाएको छ र बाटोमा गुच्चा नखेल्ने प्रस्ताव निर्विरोध पास गरेको छ, तर मूलसडकमा गुच्चा खेल्दाखेल्दै मोटरसाइकिलले किच्दा भाँचिएको उसको हात अझै पूरा विसेक भइसकेको छैन । अब पुत्रकी महतारील पनि कुन दिन वल्लापल्ला घरका कर्मठ आइमाई बटुलेर कपालकोरण समिति नबनाइदिऊन् ।

तर समिति, सम्मेलन, भाषण र प्रस्तावलाई मन नपराउने म त्यति साँघुरो विचारको असभ्य होइन । बीसौं शताब्दीको जल्दोबल्दो आधुनिक मान्छे । मान्छेमाथिको पत्रकार प्रतिदिन रकेटले साँगुरिंदै ल्याएको र पकेटले फराकिदै लगेको आणविक युगको कणर्धार । त्यसैले मेरो दिमाग फेरि एक पटक भूत, भविष्य र वर्तमानका विश्वव्यापक सारा सभा, सम्मेलन, समिति र अधिवेशनतिर सर्र कुद्न थाल्यो अनि लामखुट्टेबाबूको ओजस्वी भाषण सुन्दासुन्दै म त कताकता पुगेछु- अन्तर्राष्ट्रिय भ्यागुता सम्मेलनमा जहाँ मूल ढोकामा भ्यागुताभन्दा ठूला अक्षरले लेखिएको थियो- ‘इन्टरन्यासनल फ्रग्स कन्फ्रेन्स ।’

अन्तर्राष्ट्रिय भ्यागुता सम्मेलनको आयोजना थियो- पोखराको फेवातालमा विश्वका मुख्यमुख्य धेरैजसो खोलाबाट भ्यागुताका प्रतिनिधिमण्डलहरू आआफ्ना राष्ट्रिय झन्डा लिई भेला भइरहेका थिए । पत्रकार र क्यामेराम्यानको बढ्दो उपस्थितिले तालको वरपर खचाखच थियो । तालको बीचमा पर्ने बराहमन्दिरमा विभिन्न खोलाका राष्ट्रिय झन्डाहरूले सजिसजाउ भएको मञ्च थियो । सम्मेलन सुरु हुनुभन्दा अघि फेवातालको रैथाने भ्यागुतो परिचय गराउन र स्वागतभाषण पढ्न अघि सर्‍यो, जब ऊ अघि सरेथ्यो, फोटोग्राफरहरू तँछाड मछाड गरी क्यामेरा तेर्‍स्याउन थाले । पत्रकारहरू कापीकलम लिएर ठीक परे । म पनि अलि टाढा एउटा बुटाको फेदमा उभिएँ ।

सर्वप्रथम एउटा रातो सेतो वणर्को अग्लो मोटो भ्यागुतालाई देखाउदै फेवातालको भ्यागुतोले सुनायो- “उहाँ मिसिसिपीयाले प्रतिनिधिमण्डलका नेता मिस्टर ओल्ड एस डलर हुनुहन्छ ।” हात ठटाइ र हामिलाई पनि साथै सुरु भइहाल्यो । अनि एउटा निकै रातो वणर्को ठीक कदको सो भ्यागुतालाई देखाउदै फेवाताले भ्यागुताले भन्यो- “उहाँ हुनुहुन्छ, माखीले प्रतिनिधिमण्डलका नेता मार्शल फटाटोम ।” त्यसपछि क्रमशः उसले टेम्सखाल प्रतिनिधिमण्डलका नेता मि. एस.एस पायद सीनाखाले नेता वाजय एण्चनको पनि परिचय गरायो । त्यसपछि दोस्रो लटमा गएर एउटा थेप्चेथेचे कदको र अर्को कालोकालो वणर्का भ्यागुतालाई देखाउदै फेवाताल भ्यागुताले भन्यो- “उहाँहरू हुनुहुन्छ, हवा होखोले प्रतिनिधिमण्डलका नेता म्याउंम्याउं च र गङ्गाखोले प्रतिनिधिमण्डलका नेता श्री शान्तिकान्त चतुर्वेदी ।” अनि बाग्मतीखोले प्रतिनिधिमण्डलका नेता टारदर सिडको परिचय चल्दै थियो त्यसै बेला आफूलाई एकछिन बाहिर नगई भएन, उताबाट आउँदा स्वागत भाषण पनि सिद्धिसकेछ ।

 

सम्मेलनमा बाँडिएको ‘उद्देश्य र विषयसूची’ भन्ने एउटा ठेलीबाट थाहा पाइयो यो सम्मेलन विश्वका प्रमुख समस्याहरूमा छलफल गर्न भएको रहेछ । मूल विषय यिनै थिए-

 

(१) खोलामा जाल हाल्ने र बारुद पड्काउने काममा तुरुन्त प्रतिबन्ध लगाउने ।

(२) पञ्चशीलको आधारमा सबै खोलाका बीच शान्ति र मैत्री कायम गर्ने ।

(३) साना खोलाका समस्यामाथि विचार गर्ने ।

(४) पानी सुकेका बेलाका निमित्त भ्यागुताहरूको बसोवासको प्रबन्ध मिलाउने, इत्यादि ।

 

आजका मूल विषय यिनै न हुन् । भेला, छलफल भएपछि कसो एकोटा निणर्य ननिस्केला ? हाम्रा गाउंमा ठूल्दाइ, जेठा बूढा, रामचा, पण्डितबाजे, खंदाल काका त कुनै समस्या आइपर्दा पञ्च बसेर यसै गर्ने भनेर निणर्य ठोक्छन् भने यहा त विश्वका भएजति गिदीहरू जम्मा भएका छन् भन्ने मैले सम्झे ।

तर म सम्झदै थिए, उता त सभापतिवारे गन्जागोल चलिसकेछ । एक थरी मार्शल फटाटोभको नाम प्रस्ताव गर्दा रहेछन्, अर्का थरी मिस्टर डलरको । वादविवाद यति चक्यों कि दुई थरीमा भनाभन चल्न थाल्यो । पितापुर्खाका पालादेखिका रिसइबी सबै त्यही ओकलिन थाले । चार घण्टाको विवादपछि आखिर त्यहाँ कराउनेमध्ये जजसको स्वर ठूलो थियो, ती सबैको एउटा अध्यक्षमण्डल बन्यो ।

त्यसपछि एकसेएक विद्वत्तापूणर् भाषणहरू भए, ताली बजे र विभिन्न प्रतिनिधिमण्डलद्वारा विभिन्न विषयमा विभिन्न प्रस्ताव आए । म आफ्नो ठुटो सिसाकलमलाई न्वारनदेखिको बल झिकेर कुदाउँदै थिए, फेरि चल्यो चर्काचर्की । साना खोलाको समस्याबारे बोल्दाबोल्दै एक जना ठूलाखोले नेताले सानाखोले प्रतिनिधिमण्डललाई लात्ती उज्याएछ । उसको भनाइ थियो- “खोलो सानो होस् कि ठूलो, राज्य चल्नुपर्छ भ्यागुतैको होइन भने अन्त चाउरिएका चेपागाँडा मैं च्याप्छु । ठूलाखोले र सानाखोलेका बीच केको सहअस्तित्व !”

यता चर्काचर्की चल्दै थियो उता मुक्कामुक्की चलिसकेछ । ए क्या हो यो ! भन्दै म आत्तिएर भाग्न खोजें, अर्को एउटा बूढो पत्रकारले भन्यो- “धत्तेरि बाबू ! भ्यागुताको भाषामा पञ्चशील माने पाँच मुक्का हो ।” नभन्दै ऊ उसलाई झुक्क्याउने, ऊ उसलाई मुक्क्याउने गर्दागर्दै सर्वत्र मुक्कीका आवाजदेखि केही सुनिएन । त्यसै बीच मार्शल फटाटोभ र मिस्टर डलरको कुस्ताकुस्ती चल्न थाल्यो, कहाँको बारुद पड्काउने समस्या, कहाँको विश्वशान्ति !

सारा माछाहरू कराउन थाले- “बचाओ बाबा बचाओ ! हामी लाटासुधा माछाहरूलाई नकिच, तिमीहरू दुई-चारओटा भुँडीवाल भ्यागुताको रिसारिसले कञ्चन पानी विषाक्त नपारिदेऊ ।” तर टाउके भ्यागुतालाई माछाको रुवाइको के पर्वाह ? उसमाथि पनि रिस उठेको बेलामा को वेद पढ्छ र ? एक्कासि एउटा भ्यागुताले बुद्रुक्क उफ्रेर डुम्म के डकारेको थियो, फेवातालमा भयङ्कर विस्फोट भइहाल्यो । त्यही आवाजले थर्केर म पनि झल्यास्स ब्यूझें । ब्यूझेर घडी हेर्छ त आफूलाई सफाइ आन्दोलनको उद्घाटनमा पुग्न बितिसकेछ । आँखाअगाडि भ्यागुता-सम्मेलनको अलौकिक दृश्य नाचिरहेकै थियो, तर के गर्नु ? ‘बूढी लागी रमितामा स्यालले कुखुरो बोक्यो’ भनेजस्तो होला भन्ठानेर दौडेँ लुखुरलुखुर ।

भैरव  अर्याल

‘काउकुति’ २०१९