Trending Now

बागमती संरक्षणका महाअभियन्ता हुतराम बैद्यको स्मृतिमा ‘फाउन्डेसन’ स्थापना

काठमाडौँ, बागमती नदी सभ्यता संरक्षणका कार्यमा थुप्रै दशक बिताई ९४ वर्षको उमेरमा ९ वर्षअघि स्वर्गारोहण हुनुभएका चर्चित महाअभियन्ता स्व. हुतराम बैद्यका नाउँमा हालै काठमाडौँमा एक फाउन्डेसन खोलिएको छ । उहाँकी स्व. धर्मपत्नीसमेतको नाउँ जोडेर बैद्य दम्पतीकी सुपुत्री श्रीमती मीना बैद्य पाण्डेले विशेष पहल गरी आमा-बुबाको सम्झना तथा सम्मान स्वरूप ‘शारदा- हुतराम बैद्य फाउन्डेसन’ स्थापना गर्नुभएको हो । काठमाडौँको त्रिपुरेश्वरमा पुस ९ गते शनिवार आयोजित एक विशेष कार्यक्रमबीच राष्ट्रिय योजना आयोगकी सदस्य सलोनी सिंह प्रधानले उक्त फाउन्डेसनको विधिवत शुभारम्भ गर्नुभएको थियो । स्व. हुतराम बैद्य नेपालको पहिलो कृषि इन्जिनियर पनि हुनुहुन्थ्यो । दिगो कृषिविकास, कृषिमा आधुनिकीकरण र यान्त्रिकीकरण गर्नुपर्नेमा कुरामा उहाँले जीवनभर केही न केही काम गरिरहनु भएको थियो । साथै बागमती नदी र काठमाडौँको सभ्यता संरक्षण हुनुपर्ने कुरामा रातदिन लागि पर्ने महाअभियन्ताका रूपमा पनि उहाँ हामी बीच चिनिनुहुन्छ ।

साथै स्व. बैद्यले नेपालमा ज्येष्ठ नागरिक अधिकार प्राप्तिका लागि पनि थुप्रै वर्ष अग्रणी वकालती भूमिका निभाउनु भएको थियो । उहाँले नेपालमा अलग्गै ‘ज्येष्ठ नागरिक मन्त्रालय’ तथा ‘ज्येष्ठ नागरिक आयोग’ चाहिने कुरामा जीवन पर्यन्त वकालत गरिरहनु भएको थियो । ज्येष्ठ नागरिक सवालमा करिब दुई वर्ष लगाएर नेपालमा पहिलोपटक ‘बृहत्स्तरको राष्ट्रिय अनुसन्धानकार्य ‘नेपान’ नामक संस्थामार्फत् हुँदापनि उहाँले राष्ट्रिय अनुसन्धान टिमको अध्यक्षता ग्रहण गरी सफल नेतृत्व गर्नुभएको थियो । स्व. बैद्यले नेपालको कृषि, जलसभ्यता तथा ज्येष्ठ नागरिक अधिकारका लागि पुर्याएको बहुआयामिक योगदानका विविध पक्षहरू थप उजागर गर्ने, उहाँका सुकीर्ति र अभियानहरूलाई निरन्तरता दिने र उहाँका अनुकरणीय कार्यहरूको थप प्रचार–प्रसार तथा प्रकाशन गरी नयाँ पुस्तामाझ पुर्याउनेजस्ता महत्वपूर्ण उद्देश्यहरू बोकेर फाउन्डेसन स्थापना गरिएको कुरा संस्थापिका मीना बैद्य पाण्डेले बताउनुभयो ।

स्मरणीय छ, स्व. बैद्यका बागमती सभ्यता, ज्येष्ठ नागरिक सवाल तथा दिगो कृषि र विकासका मुद्दाहरूमा आधारित विविध विषयका करिब एक दर्जन पुस्तक प्रकाशित छन् । फाउन्डेसन शिलान्यासका अवसरमा स्व. बैद्यले करिब दुई दशकअघि लेख्नुभएको अनुसन्धानमा आधारित चर्चित पुस्तिका ‘बागमती बाँचिरहोस्’ को दोस्रो संस्करणको पनि लोकार्पण तथा वितरण गरिएको थियो । सो समारोहमा नेपाल कृषि इन्जिनियर सोसाइटीका अध्यक्ष प्रा.डा. भीमप्रसाद श्रेष्ठ, सामुदायिक ग्रामीण प्रविधि विकास केन्द्रका लुभिनकुमार श्रेष्ठ, जलवायुविज्ञ पूर्णचन्द्रलाल राजभण्डारी, जैविक-मलविशेषज्ञ डा. आनन्दशोभा ताम्राकार, सहभागीमूलक विकास अभियन्ता अश्विनकुमार पुडासैनीलगायतका व्यक्तिहरूको सहभागिता थियो ।

Comments are closed.