Trending Now

अन्यत्रभन्दा काठमाडौं उपत्यकामा महँगी धेरै

काठमाडौं : देशका अरु स्थानको तुलनामा काठमाडौं उपत्यकामा सबैभन्दा धेरै महँगी बढेको देखिएको छ।

नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको चालू आर्थिक वर्षको चैत महिनासम्मको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार ९ महिनामा काठमाडौं उपत्यकामा सबैभन्दा धेरै ८ दशमलव ५७ प्रतिशतको मूल्यवृद्धि देखिएको हो। यो अवधिमा तराई क्षेत्रमा ७ दशमलव ६८, पहाडमा ७ दशमलव १ र हिमालमा ७ दशमलव ४७ प्रतिशत मूल्यवृद्धि रहेको छ।

गत आर्थिक वर्षको सोही अवधिमा काठमाडौं उपत्यकामा ६ दशमलव २५ प्रतिशत मूल्यवृद्धि थियो। तराईमा ७ दशमलव ६१ प्रतिशत, पहाडमा ७ दशमलव ७९ प्रतिशत र हिमालमा ८ दशमलव २५ प्रतिशत मुद्रास्फीति थियो।

यस आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिसम्ममा मूल्यवृद्धिले वाञ्छित सीमा नाघेको छ। अर्थात् सरकारले राखेको मूल्यवृद्धिको सीमाभन्दा बढी मूल्यवृद्धि देखिएको छ।

चालू आर्थिक वर्षका लागि सरकारले मूल्यवृद्धि ७ प्रतिशतको सीमाभित्र कायम राख्ने लक्ष्य राखेको थियो तर चैत महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ७ दशमलव ७६ प्रतिशत पुगेको छ।

अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७ दशमलव २८ प्रतिशत बराबर थियो। यो अवधिमा खाद्य तथा पेयपदार्थको मूल्यवृद्धि ६ दशमलव ९३ प्रतिशत र गैर–खाद्य तथा सेवा क्षेत्रको मूल्यवृद्धि ८ दशमलव ४२ प्रतिशत रहेको छ।

खाद्य तथा पेयपदार्थ समूहअन्तर्गत रेष्टुराँ तथा होटल उपसमूहको वार्षिक विन्दुगत मूल्य सूचकाङ्क १४ दशमलव ६८ प्रतिशतले बढेको छ।

मरमसलाको १४ दशमलव ६७, खाद्य तथा खाद्यजन्य पदार्थको १३ दशमलव ७२ प्रतिशत, फलफूलको ११ प्रतिशत र सुर्तीजन्य पदार्थको १० दशमलव ८३ प्रतिशतले बढेको छ।

गैर–खाद्य तथा सेवा समूहअन्तर्गत स्वास्थ्य उप–समूहको वार्षिक विन्दुगत मूल्य सूचकाङ्क १० दशमलव ३९ प्रतिशतले बढेको छ।

घरायसी उपयोगका वस्तुमा ९ दशमलव ५४, मनोरञ्जन तथा संस्कृतिमा ८ दशमलव ८१, फर्निसिङ तथा घरायसी उपकरणमा ८ दशमलव ७४ र शिक्षा क्षेत्रमा ८ दशमलव ६७ प्रतिशतको मूल्यवृद्धि देखिएको छ।

गत चैत महिनामा वार्षिक विन्दुगत थोक मुद्रास्फीति भने ५ दशमलव ५९ प्रतिशत छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति १४ दशमलव ४२ प्रतिशत थियो।

Comments are closed.