अक्षरमार्गद्वारा श्रष्टाहरू सम्मानित

 

 

२६चैत्र, पनौति, अक्षरमार्गले ७ नेपाली र एक भारतेली सर्जकलाई सम्मान गरेको छ । ’अक्षरमार्ग’ त्रैमासिकको वार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रममा वाङ्मयको क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउनु हुने सर्जकहरूलाई सम्मान गरेको हो । शनिबार पनौतीमा आयोजित सम्मान समर्पण तथा पुस्तक लोकार्पण कार्यक्रममा चार वटा पुस्तक पनि लोकार्पण गरिएका थिए ।

सम्मान समारोहमा वरिष्ठ साहित्यकार तथा साहित्यिक पत्रकार रोचक घिमिरेलाई विष्णुहेम अक्षरमार्ग वरिष्ठ साधक सम्मानबाट सम्मानित गरिएको छ । यस्तै, वरिष्ठ साहित्यकार तथा समालोचक डा.शैलेन्दु प्रकाश नेपाललाई नरबहादुर अक्षरमार्ग सम्मानबाट सम्मानित गरिएको छ । श्रीराम अक्षरमार्ग स्मृति सम्मानबाट साहित्यकार तथा साहित्यिक पत्रकार गंगा सुवेदीलाई सम्मान गरिएको छ । यसैगरी, कृष्णसुन अक्षरमार्ग साहित्यिक सम्मानबाट साहित्यकार तथा साहित्यिक पत्रकार श्रीराम श्रेष्ठ सम्मानित भएका छन् । साहित्यकार डा. साधना पन्त प्रतिक्षालाई कृष्णदास अक्षरमार्ग स्रष्टा सम्मानबाट सम्मानित गरियो भने सर्जक डा. विजय पण्डितलाई ध्रुबमीरा अक्षरमार्ग मिराज प्रतिभा सम्मानद्धारा सम्मानित गरिएको छ । यस्तै, अक्षरमार्ग भरतराज काभ्रेली गौरव सम्मानबाट साहित्यकार तुयुकाजी ताम्राकार सम्मानित भएका छन् । गायक तथा संस्कृतीकर्मी विजयराम कर्माचार्यलाई खड्गबेद अक्षरमार्ग सहयात्रा सम्मान प्रदान गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ कलाकार तथा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति के के कर्माचार्यले सम्मानित प्रतिभाहरूलाई दोसल्ला, सम्मानपत्र प्रदान गरेका थिए । यस्तै, प्रल्हाद केसी र ध्रुबनारायण जोंन्छेबाट सम्मानित सर्जकहरूलाई सगुन प्रदान गर्नुभएको थियो ।

अक्षरमार्गका संयोजक, साहित्यकार सूर्यप्रसाद लाकोजूको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा चार वटा पुस्तक, सूर्यप्रसाद लाकोजूद्वारा लिखित ‘घाम फुल्ने याम’ र ‘मकर मेला अफ पनौती’को दोस्रो संस्करण, कृष्णप्रसाद सिटौलाद्धारा लिखित ‘मनकुसुम’ र अक्षरमार्गको ‘कथामा समावेत स्वरहरू’ नामक पुस्तक लोकार्पण गरिएको हो ।