चलचित्र तेल भिसा र अग्निदहन आजदेखि प्रदर्शन हुँदै

काठमाडौँ– बक्स अफिसमा राम्रो व्यापार गरिरहेको चलिचत्र ‘पूर्णबहादुरको सारंगी’को दबदबाकाबिच आज शुक्रबारदेखि सिनेमा घरहरुमा चलचित्र ‘तेल भिसा’ र ‘अग्रिदहन’ प्रदर्शनमा आएका छन्।

कलाकार विपिन कार्की र वर्षा राउतको मुख्य भूमिका रहेको फिल्म ‘तेल भिसा’ले हलबाट राम्रो शो पाएको छ। यद्यपि, बलियो वर्ड अफ माउथ पब्लिसिटीले फिल्मको व्यापार निर्धारण गर्नेछ।

ऋचा घिमिरेको प्रस्तुति रहेको चलचित्रलाई शंकर घिमिरेले निर्देशन गरेका हुन्। बुहारी स्याहार्न विदेश गएको सासुले अमेरिका पुगेपछि भोग्नुपरेको कानुनी झमेलालाई यस चलचित्रमा समेटेको छ। चलचित्रले डायस्पोराको ममस्पर्शी कथा प्रस्तुत गर्छ। चलचित्रमा दोहोरो चरित्रमा देखिएका विपिन बुवा र छोराको भूमिकामा छन्।

विपिन र वर्षासहित फिल्ममा पूजा चन्द, ऋचा घिमिरे, बुद्धि तामाङ, फ्रान्सिस शेरमन, ज्याक बेल, सुचित्रा उप्रेती र अनिल पाण्डेको समेत अभिनय छ।

अनिल पाण्डे र शिवराज कार्की निर्माता रहेको फिल्मलाई नेपालसहित अमेरिकाको मेरिल्यान्डमा खिचिएको चलचित्रको कथा शंकर घिमिरेले नै लेखेका हुन्।

तर, बोक्सी प्रथामा आधारित चलचित्र ‘अग्निदहन’ ले भने मल्टिप्लेक्स हलहरुमा न्यून शो पाएको छ। बुधबार गरिएको प्रिमियर शोमा यस फिल्मलाई रुचाइएको थियो।

घनश्याम लामिछाने निर्देशित चलचित्रमा प्रकाश घिमिरे, प्रमिला तुलाचन, माओत्से गुरुङ, अनुपमा भण्डारी, तुलसी क्षेत्री, विष्णु बास्तोला, तारा बहादुर गुरुङको अभिनय छ।

कोविदशरण उपाध्यायको परिकल्पना रहेको चलचित्रमा लोकमणि पौडेलको कथा, पटकथा तथा संवाद रहेको छ।

नेपालको निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लेसमेत हेरिसकेका छन्।