आन्ट ग्रुपमाथि एक खर्ब ३० अर्ब बढी जरिवाना

काठमाडौं । ज्याक माको चिनियाँ सरकारसँगको टकराव उनका कम्पनीहरू आन्ट ग्रुप र अलिबाबा ग्रुप होल्डिङका लागि महँगो परेको छ । सरकारले उनका कम्पनीलाई करिब एक अर्ब डलर जरिवाना लगाएर आफ्नो अनुसन्धान पूरा गर्ने निष्कर्ष निकालेकाे छ ।

चिनियाँ नियामकले उपभोक्ता संरक्षण कानून र कर्पोरेट सुशासन उल्लङ्घन गरेको आरोपमा हालै आन्ट ग्रुपलाई एक खर्ब रूपैयाँभन्दा बढी जरिवाना लगाएको छ । चीनकाे मुख्य अनलाइन भुक्तानी प्लेटफर्म अलिपेकाे सञ्चालक आन्ट ग्रुपमाथि सरकारले ७.१ अर्ब युआन (करिब एक खर्ब ३० अर्ब रुपैयाँ रुपैयाँ) जरिवाना तिराउने निर्णय गरेको हो ।

साथै आन्टकाे ‘अवैध आम्दानी’ पनि सरकारले जफत गरेको छ, तर कति रकम जफत गरियो भन्नेबारे खुलाइएको छैन ।

ज्याक माले २०२० मा बेइजिङको वित्तीय क्षेत्र नियमनको आलोचना गरेपछि सरकारले उनका कम्पनीमाथि अनुसन्धान सुरु गरेको थियो । यसपछि आन्ट ग्रुपले ल्याउन लागेको विश्वकै ठूलो आईपीओ प्रस्ताव रद्द हुन पुग्यो ।

सरकार र ज्याक माबीचको द्वन्द्वले चीनको निजी क्षेत्रसमेत आत्तिएको छ । आन्टले संवेदनशील क्षेत्रहरूमा संलग्नता घटाउन र राज्य-समर्थित बैंकहरूसँग प्रतिस्पर्धालाई सहज बनाउन आफ्नो व्यापारिक मोडेलमा धेरै परिवर्तन गर्नुपर्‍यो ।

यसले कम्पनीको बजारमूल्यमै ह्रास आएको छ । सरकारले आन्ट ग्रुपमाथि अनुसन्धान गर्नुअधि कम्पनीको मूल्याङ्कन लगभग ३१५ अर्ब डलर अनुमान गरिएको थियो । अहिले भने लगभग साढे ७८ अर्ब डलरमा झरेको छ ।

सरकारी निशानामा परेको अर्को कम्पनी अलिबाबाले पनि आफ्ना ठूला ६ व्यवसायहरू विभाजन गर्ने घोषणा गर्‍यो । ज्याक माका कम्पनीहरू र सरकार बीचको यो टकरावले लगानीकर्ताहरूलाई निरुत्साहित बनाएको छ । यसबाट चीनले भविष्यमा आर्थिक कठिनाइ झेल्नुपर्ने र निजी क्षेत्रको सहयोग गुमाउने जोखिम रहेको विश्लेषण गरिएको छ ।