‘सङ्कल्प’
उपासना हुँ देशको म अर्चना हुँ देशको
सुवास मग्मगाउँने म बासना हुँ देशको
सुधा पिएर शैलको म मृत्तिका सजाउछु
बनेर मेरुदण्डझैँ धरा उचाल्न सक्दछु ।
म मूल देशको कतै मुहान सर्न सक्दिनँ
भनेर वीर जो लडे कदापि भुल्न सक्दिनँ
तिनै अजेय वीरको दुरुस्त बाघ सन्तति
भुलेर खान्न भोकमा अनाज वा वनस्पति ।
धरा फुटेर जन्मिने मधेसकी म जानकी
हिमाल स्वाभिमानकी सुपूज्य अंश पार्वती
प्रताप ज्ञान बुद्धको लिएर शान्त सागर
बनूँ अनन्त देशको मुहारको प्रभाकर ।
म झर्छु बिन्दु रूपमा निधारको अघिल्तिर
बगेर सिन्धु कर्मले म फुल्छु सृष्टि सुन्दर
फलेर अन्न भोकको जरा उखेल्न सक्छु म
लिएर गर्भ ज्ञानको विकास जन्म दिन्छु म
बलेर अग्नि न्यायमा कसी लगाइदिन्छु म
उनेर प्रेम विश्वको गला मिलाइदिन्छु म
अरू त छैन चाहना म देशको धुलो बनी
यही पवित्र स्वर्गमा रहूँ जुनी जुनी जुनी ।
टीका आत्रेय
कवि टीका आत्रेयको यो कविताले ‘राष्ट्रिय कविता महोत्सव–२०७९’ मा प्रथम स्थान प्राप्त गरेको हो ।