उडानका क्रममा झ्याल ‘गायब’ भएपछि ‘बोइङ ७३७ म्याक्स ९’ विमानको उडानमा रोक

ओरेगन । अमेरिकामा एउटा घटना बाहिर आएको छ जसमा विमानको झ्याल उडानका क्रममा उखेलिएको छ । यो घटनापछि अलास्का एयरलाइन्सले आफ्ना सबै ६५ ‘बोइङ ७३७ म्याक्स ९’ विमानलाई ‘अस्थायी रूपमा’ उडान गर्नबाट रोकेको छ ।अलास्का एयरलाइन्सले यी सबै विमानहरूको जाँच गर्ने र त्यसपछि मात्र उडान गर्न अनुमति दिने बताएको छ। पोर्टल्याण्ड (ओरेगन) बाट अमेरिकाको ओन्टारियो (क्यालिफोर्निया) जाँदै गरेको अलास्का एयरलाइन्सको विमानको एक भाग हावाको चापमा विमानबाट अलग भएको थियो । तर, यो विमान सकुशल अवतरण भएको थियो ।

स्थानीय समय अनुसार शुक्रबार साँझ यो घटना भएको हो । अलास्का एयरलाइन्सले जारी गरेको विज्ञप्तिमा १७१ यात्रु र ६ जना चालक दलका सदस्य बोकेको विमान पोर्टल्याण्ड अन्तर्राष्ट्रिय विमानस्थलमा सकुशल अवतरण भएको बताइएको छ ।