टिआरसीमा नमिलेका विषयमा सहमति खोज्न सहजीकरण कार्यदल गठन

काठमाडौं : संक्रमणकालीन न्यायसम्बन्धी विधेयक (टिआरसी)मा नमिलेका विषयमा सहमति खोज्न सहजीकरण कार्यदल गठन गरिएको छ। गत शुक्रबार बालुवाटारमा बसेको प्रमुख तीन दलका शीर्ष नेताको बैठकले नमिलेका विषय मिलाउन कार्यदल गठन गर्ने निर्णय गरेको थियो।

प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको छलफलपछि सो सहमति भएको थियो। आइतबार बेलुका तीनै दलले सहजीकरणका लागि एक–एक जनाको नाम दिएपछि सहजीकरण कार्यदल बनेको हो।

सहजीकरण कार्यदलमा कांग्रेसबाट रमेश लेखक, एमालेबाट महेश बर्तौला र माओवादीबाट जनार्दन शर्मा सदस्य छन्। कार्यदलले यसअघिको मस्यौदामा भएका असहमतिका बुँदामा छलफल गरी साझा धारणा बनाउनेछ।