न्यूजिल्याण्डकी पूर्वप्रधानमन्त्री आर्डर्नले गरिन् विवाह

काठमाडौं : न्यूजिल्याण्डकी पूर्वप्रधानमन्त्री जसिन्डा आर्डर्नले  प्रेमी क्लार्क गेफोर्डसँग विवाह गरेकी छन्।

आर्डर्न र गेफोर्डले पाँच वर्षअघि इन्गेजमेन्ट गरेका थिए। सन् २०२२ मा बिहे गर्ने तय भए पनि कोरोना महामारीको बढ्दो संक्रमणका कारण उनीहरुले आफ्नो विवाह स्थगित गरेका थिए।

लामो समयपछि एक निजी समारोहमा विवाह गरेका हुन्। सन् २०१७ मा मात्र ३७ वर्षको उमेरमा आर्डर्न न्युजिल्याण्डको ४० औँ प्रधानमन्त्री बनेकी थिइन्। न्युजिल्याण्डको राजधानी वेलिङ्टनबाट ३२५ किलोमिटर टाढा रहेको हक्स बे क्षेत्रमा विवाह समारोह आयोजना गरिएको थियो।

आर्डर्न र गेफोर्डले परिवारका सदस्यहरूको उपस्थितिमा विवाह गरेका हुन्। विवाह समारोहमा पूर्व प्रधानमन्त्री क्रिस हिपकिन्स पनि उपस्थित थिए।

आर्डर्नले कोरोना महामारीको अवधिमा मुलुकका लागि धेरै महत्त्वपूर्ण निर्णय लिएकी थिइन्, जसका कारण उनको कामको पनि प्रशंसा भएको थियो। प्रधानमन्त्री पदमा रहँदा उनले बच्चालाई पनि जन्म दिइन्।

आफ्नी नवजात छोरीलाई संयुक्त राष्ट्र महासभामा पनि लिएर गएकी थिइन्। आर्डर्नले जनवरी २०२३ मा आफ्नो पदबाट राजीनामा दिएकी थिइन्।