अवैध लागूऔषध सहित पक्राउ तथा बरामद

     

काठमाडौं, १७ पुस

काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध नाइट्राभेट ९ सय ट्याबलेट र कोरेक्स ५ बोतल सहित काभ्रे भुम्लु गाउँपालिका-६  बस्ने २१ वर्षीय छिरिङ् लामालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण व्यूरोबाट खटिएको प्रहरीले बरहथवा सर्लाहीबाट काठमाडौंतर्फ आउँदै गरेको ना.६ ख ९००४ नम्बरको बसलाई जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी बसमा सवार उनलाई पक्राउ गरेको हो ।

सिन्धुली, सुनकोशी गाउँपालिका-६ कानढुग्रेबाट नियन्त्रित लागूऔषध एकसय एमएलको कोडिन फोस्फेट ४ सय एमएल, नाइट्राजेपाम ४४ ट्याब्लेट र सम्पास्मो प्रोक्सभिन १४ ट्याब्लेट सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनुषा मिथिला नगरपालिका-९ बस्ने २२ वर्षीय धिरज ठाकुर र सोही नगरपालिका-९ बस्ने २६ वर्षीय सर्वन साह रहेका छन् ।    ईलाका प्रहरी कार्यालय खुर्कोटबाट खटिएको प्रहरीले धनुषाबाट काठमाडौंतर्फ आउँदै गरेको प्रदेश ३-०२-०११ प ८८८६ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

रौतहट, राजपुर नगरपालिका-१ पिपरा भगवानपुरस्थित पिपरा टोलमा रहेको जेएच १० एक्स ४२१२ नम्बरको गाडीबाट अवैध लागूऔषध गाँजा ९१ किलो आइतबार बिहान प्रहरीले बरामद गरेको छ । उक्त गाडीमा लागूऔषध गाँजा रहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरीले गाडी तलासी गर्दा उक्त गाँजा फेला परी बरामद गरेको हो । साथै सोही ठाउँबाट वेवारिसे अवस्थामा बीआर ३० यू ०४७४ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Comments are closed.