युक्रेनमा चार नेपाली बन्दी

युक्रेनमा चार नेपालीलाई बन्दी बनाइएको खुलेको छ। चार जना बन्दीका बारेमा नेपाल सरकारको गम्भीर ध्यानाकर्षण भएको बुधबार विज्ञप्तिमा जनाइएको छ ।
बन्दी बनाइएकाहरुलाई शीघ्र रिहा गरी नेपाल फिर्ता पठाउन युक्रेन सरकारलाई कूटनीतिक माध्यमबाट अनुरोध गरिएको परराष्ट्रले बताएको छ ।
मन्त्रालयका अनुसार निजहरुको रिहाइ र नेपाल फिर्तीका लागि अन्तर्राष्ट्रिय कमिटी अफ रेडक्रसलगायत अन्य माध्यमबाट पनि कूटनीतिक प्रयास भइरहेको जानकारी छ ।
मन्त्रालयले बर्दिया राजापुर–१ का विवेक खत्री, मण्डनदेउ–६, काभ्रेपलाञ्चोकका सिद्धार्थ ढकाल, लेटाङ–२, मोरङका विकास राई र रून्तिगढी–८ रोल्पाका प्रतीक पुनलाई युक्रेनमा बन्दी बनाइएको बताउँदै उनीहरूको रिहाइका निम्ति भगिरथ प्रयास गरिरहेको जनाएको छ।