काठमाडौं, ४ माघ
डाँका तथा संगठित अपराध मुद्दाका फरार प्रतिवादी काभ्रे तिमाल गाउँपालिका-५ घर भएका ३२ वर्षीय रोमन भन्ने मनराज तामाङलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं उपत्यका तथा बाहिर समेत बिभिन्न श्रृङ्खलाबद्ध डकैती घटनाको अनुसन्धानको क्रममा फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनकै घर नजिकबाट पक्राउ गरेको हो ।
गत २०७९ असार ६ गते राति काठमाडौं शंखरापुर नगरपालिका-९ खुलालटारस्थित घरबाट करिब २ लाख ४१ हजार रुपैयाँ बराबरको धनमाल डकैती गरेको, २०७९ असार १२ गते सोही ठाउँस्थित घरबाट करिब ६ लाख ५ हजार ७ सय ५० रुपैयाँ बराबरको धनमाल डकैती गरेको, २०७९ असार २० गते राति काभ्रेपलाञ्चोक बनेपा नगरपालिका-११ स्थित घरबाट करिब १२ लाख ४९ हजार रुपैयाँ बराबरको धनमाल डकैती गरेको, २०७९ साउन २४ गते राति कीर्तिपुर नगरपालिका-६ स्थित घरबाट करिब ५६ लाख ६५ हजार १ सय २४ रुपैयाँ बराबरको धनमाल डकैती गरेको घटनामा तामाङ संलग्न रहेको खुल्न आएको छ । साथै २०६८ कात्तिक २२ गते ललितपुरको झरुवारासी एरियामा उनी लगायतका व्यक्तिहरुले डाँका गर्न जाने क्रममा साविक झरुवारासी गाविस-३ त्रिवेणीघाटमा मोटरसाईकल रोकी बसिरहेका ४२ वर्षीय श्रवण खड्कालाई डकैती गर्ने क्रममा उनीहरुले समेतका व्यक्तिले गोली प्रहार गरी ज्यान मारेको खुन डाँका मुद्धामा १० वर्ष कैद भुक्तान गरी छुटेको अनुसन्धानबाट खुल्न आएको छ ।
उनलाई आवश्यक कारवाहीको लागि प्रहरी वृत्त बौद्ध पठाइएको छ ।