विद्युतीय माध्यम सम्बद्ध ठगी गर्ने व्यक्तीहरु पक्राउ

 

काठमाडौं, २४ पुस

विद्युतीय माध्यम सम्बद्ध ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा भारत दार्जिलिङ ठेगाना भएका ४० वर्षीय मोहम्मद हाकिम र झापा मेचिनगर नगरपालिका-८ बस्ने ३७ वर्षीय बिम माया मगरलाई प्रहरीले पक्राउ गरेको छ ।

पीडितको फेसबुक म्यासेन्जरमा आफू सिरियामा कार्यरत अमेरिकन आर्मी हुँ भन्दै प्रलोभनमा पारी डलर र उपहार पठाई दिएको छु रिसिभ गर्नुहोला भनि उपहार पठाएको जस्तो भान पर्ने गरी सो को भर्पाई पठाएको र पीडितले रकम आवश्यक छैन भन्दा  उल्टै Money Laundering मा फस्नु भईसक्यो यदि सो बाट छुट्कारा पाउन चाहनु हुन्छ भने तपाईको WhatsApp Number मा आएको बैंक खातामा रकम जम्मा गरीदिनु भनि डर त्रासमा पारी विभिन्न मिति र समयमा Online Mobile Banking मार्फत विभिन्न बैंक खाताहरुमा पटक पटक रकम पठाउन लगाई ठगी गर्ने कार्यमा उनीहरू संलग्न रहेको खुल्न आएको छ ।

उनीहरू उपर विद्युतीय माध्यम सम्बद्ध ठगी, अन्तर्गतको कसुरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिन म्याद थप भई आवश्यक अनुसन्धान कार्य भइरहेको छ ।

Comments are closed.