‘यी मान्छे, यी नजर’ गजलसंग्रह प्रकाशित

 

 

२०७८ चैत्र २६ गते

पोखरा,  गजलकार जनार्दन दाहालको तेस्रो गजल सङ्ग्रह ‘यी मान्छे, यी नजर’ शनिबार तनहुँमा सार्वजनिक गरिएको छ ।

शुक्ला साहित्य सङ्गम, दुलेगौँडाद्वारा आयोजित कार्यक्रममा वरिष्ठ साहित्यकार सरुभक्तले कृतिको लोकार्पण गरे । शुक्ला साहित्य सङ्गमले तनहुँको साहित्यिक फाँटमा महत्त्वपूर्ण योगदान पुर्‍याएको भन्दै सरुभक्तले जनार्दन १ नम्बर प्रदेशका स्थायी वासिन्दाभन्दा बढी गण्डकी प्रदेशकै एक महत्त्वपूर्ण स्रष्टाका रूपमा आफूले चिनेको स्मरण गरे । आफूले चिनेदेखि नै दाहाल एक धैर्यशील सर्जक भएको उनको भनाइ थियो । गजल र कविता दुवैमा कलम चलाउने जनार्दनको सम्पादक व्यक्तित्वबाट पनि आफू प्रभावित भएको नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानका पूर्व कुलपतिसमेत रहेका सरुभक्तले सुनाए ।

कृतिको समीक्षा गर्दै साहित्यकार रुपिन्द्र प्रभावीले दाहालको ‘यी मान्छे, यी नजर’ गजल सङ्ग्रहभित्र गेय गुणले युक्त गजलहरू समेटिएको बताए । समसामयिक धाराका प्रतिभाशाली गजलकारका रूपमा दाहाललाई सङ्ग्रहले स्थापित गर्ने उनको भनाइ थियो । ‘जनार्दन दाहाल जीवन र जगतका विसङ्गतिहरूलाई शालीन प्रहार गर्ने गजलकार हुन्’ प्रभावीले भने, ‘शास्त्रीय बहरमा पनि गजल लेख्ने रहर कृतिमार्फत् देखाए पनि स्वनिर्मित लयविधानमै लेखिएका उनका गजलहरू सशक्त छन् । ’उनले दाहाललाई परिपक्व गजलकार रूपमा चिनाए । मिडिया रिसर्च सेन्टरद्वारा प्रकाशित कृतिभित्र ८५ ओटा गजल समेटिएका छन् ।

यसअघि दाहालका २०६३ मा ‘मधुरिमा’ र २०६५ मा ‘उद्वेलित मनहरू’ गजल सङ्ग्रह प्रकाशित छन् । २०६४ मा ‘कविको मृत्यु’ कविता सङ्ग्रह पनि पाठकसामु ल्याएका उनको ‘यी मान्छे, यी नजर’ चौथो कृति हो । झापाको अर्जुनधारामा जन्मेका गजलकार दाहाल विगत २ दशकदेखि तनहुँको दुलेगौँडामा रही साहित्य र शिक्षाका क्षेत्रमा क्रियशील छन् । उनी शुक्ला साहित्य सङ्गमका पूर्व अध्यक्षसमेत हुन् ।

 

 

यसै बिच, शुक्ला साहित्य सङ्गमले ४ जना स्रष्टालाई शुक्ला साहित्य पुरस्कार प्रदान गरेको छ । कला र साहित्यका क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याएको भन्दै बिम्बकवि रमेश श्रेष्ठलाई १५ हजार रुपैयाँसहितको शुक्ला विशिष्ट सम्मान, गजलकार जनार्दन दाहाललाई १० हजार नगदसहितको शुक्ला पुरस्कार, कवि अनिल श्रेष्ठलाई ५ हजार रुपैयाँ नगदसहितको शुक्ला प्रतिभा पुरस्कार र बालप्रतिभा अनुप लामिछानेलाई २ हजार ५ सय रुपैयाँ रहेको पूर्ण-शुक्ला बाल प्रतिभा पुरस्कार प्रदान गरिएको थियो ।

सम्मानित प्रतिभा रमेश श्रेष्ठले शुक्लाले गरेको सम्मानले आफूलाई थप हौसला प्राप्त भएको बताए । सङ्गमका कार्यवाहक अध्यक्ष रामशरण गैह्रेको अध्यक्षतामा भएको कार्यक्रममा पुरस्कृत स्रष्टाहरूको परिचय नारायण श्रेष्ठ, आनन्दसुन्दर श्रेष्ठ, टुकादेवी आचार्य र आकाश अधिकारीले दिएका थिए । सोही अवसरमा संस्थामा आबद्ध भएर कृति प्रकाशन गरेका नारायणकैलाश सिग्देलआकाश अधिकारीजुनु खड्काटुकादेवी आचार्यजीवन सागरटीकाराम पौडेल र शेषमणि आचार्यलाई पनि सम्मान गरिएको थियो ।