संगीतकार रञ्जित गजमेरको आत्मकथा ‘मोहनी मादलको’ लोकार्पण

काठमाडौँ — वरिष्ठ संगीतकार रञ्जित गजमेरको आत्मकथा ‘मोहनी मादलको’ पुस्तक एक कार्यक्रम माझ विमोचन गरिएको छ। कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको डबलीमा गरिएको कार्यक्रममा दिवंगत मित्रहरु पिटर जे कार्थककी पत्नी रञ्जना कार्थक र नोर्बु योञ्जनकी छोरी सुजता योञ्जनले पुस्तकको लोकार्पण गरेका थिए ।  आत्मकथा शेखर खरेलले लेखेका हुन् ।

नेपालमा संगीतयात्रा र संघर्षकका क्रममा आफ्ना मित्रहरु कार्थक र नोर्बुले गरेको सहायताको स्मरण गर्दै गजमेरले तिनै मित्रका परिवारजनमार्फत पुस्तक लोकार्पण गरेका हुन् ।

पुस्तकमा लेखक खरेलले गजमेरको दार्जीलिङ, काठमाडौं र मुम्बईसम्मको संगीतयात्रा तथा संघर्षलाई प्रस्तुत गरेका छन् । जहाँ गजमेरको दार्जीलिङस्थित बाल्यकाल, परिवार, नेपालमा वीरगन्जदेखि काठमाडौंसम्म तत्कालीन नेपाल एकेडेमी, रेडियो नेपाल, मुम्बई यात्रा, मादल र बाँसुरीको कथालाई निकै सुन्दर रूपमा उतारेका छन् । गजमेरको सांगीतिक यात्रा र साधना, उनका सिर्जनाहरूको मोहका कारण नै पुस्तक तयार भएको खरेलले बताए ।

नेपाल र नेपालीका लागि आफूले के गरे र के दिन सके भन्ने सम्पूर्ण विवरण पुस्तकमा आएकोमा गजमेरले खुसी व्यक्त गरे । ‘मैले नेपाल र सबै नेपालीका लागि के गर्न सकेँ भन्ने सबै कुरा किताबमा छन्,’ उनले भने,‘यहाँ आएर सबैसँग नेपालीमा बात गर्न पाएँ । होइन भने हिन्दी, कि गुजराती, मराठी र अंग्रेजी भाषा बोल्नु पर्थ्यो । मलाई असाध्यै राम्रो लागेको छ ।’ आफ्नो सांगीतिक जीवनको यात्रा र संघर्षमा श्रीमती कुशुम गजमेरको हात रहेको सुनाउँदै उनले सम्पूर्ण सफलताको श्रेय उनैलाई दिए । कार्यक्रममा उनले गुरु अम्बर गुरुङ तथा मित्रहरू पिटर र नोर्बुका परिवारलाई समेत स्मरण गरे ।

नेपाली संगीतमा गजमेरसँगै सहकार्य गरेका स्रष्टाहरु नगेन्द्र थापा र दिनेश अधिकारीले गजमेरसँगैका सहयात्रा स्मरण गरे । नेपाली संगीतका सर्जकमाथि लेखिएका पुस्तक थोरै रहेकाले गजमेर रहेकै समयमा आएको पुस्तकमाथि थापाले खुसी साटे । स्रष्टा अधिकारीले गजमेर नेपाली गीतलाई नेपालीपन र शैली दिई लोकसंगीतमा जोड्ने फरक सर्जकका रूपमा लिए । उनले भने,‘रञ्जित दाइ अरुभन्दा फरक हुनुहुन्छ । यही फरकपनले उहाँलाई लामो आयु दिएको छ ।’ पुस्तकले गजमेरको संगीत सिर्जनाको आयु अझै लम्ब्याउने उनको ठहर छ ।

Comments are closed.