ध्रुवचन्द्र गौतम ‘आविष्कारी आख्यानकार’ उपाधिबाट अभिनन्दित

काठमाडौँ — प्रसिद्ध आख्यानकार धु्रवचन्द्र गौतमको ८० औँ जन्मदिवस भव्य रुपमा सम्पन्न गरिएको छ । वसन्त चौधरी फाउन्डेसन र श्री लुनकरणदास–गंगादेवी चौधरी साहित्यकला मन्दिरले आयोजना गरेको उक्त कार्यक्रममा स्रष्टा ध्रुवचन्द्र गौतम ‘आविष्कारी आख्यानकार’ उपाधिबाट सम्मानित गरिएको हो । गौतमको लेखनयात्राको सातौँ दशक तथा ८० औं जन्मोत्सवका अवसरमा आइतबार कमलपोखरीस्थित अग्रवाल भवनमा वसन्त चौधरी फाउन्डेसन र श्री लुनकरणदास–गंगादेवी चौधरी साहित्यकला मन्दिरले उक्त सम्मान प्रदान गरेको हो ।
समारोहमा फाउन्डेसनका संस्थापक अध्यक्ष वसन्त चौधरी र कला मन्दिरकी अध्यक्ष मेघा चौधरीले गौतमलाई दोसल्ला ओढाई त्रिदेवी मूर्ति चिनो र उपाधि सम्मानपत्र हस्तान्तरण गरेका थिए ।
१० वर्षको उमेरदेखि लेखनयात्रा सुरु गरेका गौतमका कथा, कविता, उपन्यास, नाटक गरी हालसम्म ५३ वटा कृति छन् । अध्यक्ष चौधरीले गौतमलाई आख्यान जगत्का हस्तीका रूपमा लिँदै नेपाली सिर्जना उनीसँगै जिउँदै रहेको बताए । ‘नेपाली आख्यानका लागि यो गौरवमय दिन र आत्मीय दिवसका रूपमा म लिन चाहन्छु,’ उनले भने । लेख्नु, लेखिरहनु, नयाँ कृतिहरू जन्माउनु र सिर्जनामा रमाउनु नै गौतमको स्वार्थ रहेको उनले उल्लेख गरे । अहिलेका पुस्ताहरू अंग्रेजी पुस्तक अध्ययन गर्न रुचाउने बताउँदै मन्दिर अध्यक्ष चौधरीले गौतम जस्ता सर्जकलाई अन्तर्राष्ट्रियस्तरमा लैजान विभिन्न प्रतिष्ठान र संस्थाहरूले अनुवाद साहित्यमा जोड दिन उनले आग्रह गरिन् ।


सम्मानित गौतमले आफ्नो उमेरभन्दा लेखनमार्फत पाएको सम्मान आफ्ना लागि अति नै महत्त्वपूर्ण रहेको सुनाए । उनले भने, ‘मेरो उमेर र अरू सबै कुरा मेरा लागि मामुली हुन् । मेरो लेखनको आठौं दशक र लेखनको कदर नै मेरा लागि ठूलो हो ।’ आफू फरक लेखनमा रमाउने सुनाउँदै उनले विज्ञानमा मात्र नभएर समाज, साहित्यमा पनि नयाँ प्रयोग र आविष्कार हुने जिकिर गरे ।
कार्यक्रममा गौतमसँग लिएका अन्तर्वार्ता, उनीसँग नजिक भएका, उनलाई चिनेका, उनका पाठकहरूको संस्मरणलाई समेटेर तयार गरिएका र उनका बारेमा अनुसन्धान गरिएका १० वटा लेखहरूसहित ‘धु्रवचन्द्र गौतमः आविष्कारी आख्यानका दशकहरू’ पुस्तकको समेत लोकार्पण गरिएको थियो । खुमनारायण पौडल र ईशान गौतमद्वारा सम्पादित पुस्तकलाई साहित्यकला मन्दिरका अध्यक्ष चौधरीले प्रकाशनमा ल्याएकी हुन् ।

 

Comments are closed.