खाना पकाउने एलपी ग्यास र पेट्रोलियम पदार्थको मूल्यमा सामान्य गिरावट

काठमाडौं । नेपाल आयल निगमले आज राती १२ बजे देखि लागू हुने गरी खाना पकाउने एलपी ग्यास र पेट्रोलियम पदार्थको मूल्य केही समायोजन गरेको छ ।

आज पत्रकार सम्मलेन गर्दै निगमले खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिन्डर १० रुपैयाँ, पेट्रोलको मूल्य प्रतिलिटर छ रुपैयाँ र डिजलको मूल्य प्रतिलिटर चार रुपैयाँले घटाएको जानकारी दिएको हो ।

मूल्य समायोजन पछि ग्यासको मूल्य अब प्रतिसिलिन्डर १७ सय ९० रुपैयाँ पर्नेछ । त्यस्तै पेट्रोलको मूल्य काठमाडौं उपत्यकामा प्रतिलिटर एक सय ६४ रुपैयाँ कायम भएको छ भने ठाउँअनुसार फरक/फरक दर कायम भएको छ । डिजलको मूल्य काठमाडौं उपत्यकामा प्रतिलिटर एक सय ४६ रुपैयाँ पर्नेछ ।

निगमले आजदेखि पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू गरेको पनि जनाएको छ । अब भारतबाट मूल्य बढेर आउँदा नेपालमा पनि मूल्य बढ्नेछ भने घटेर आउँदा घट्नेछ ।

भारतबाट १५/१५ दिनमा इन्धनको मूल्यमा थप घट भएर सूची आउने गर्दछ। भारतीय आयल कर्पोरेसन (आईओसी) को ३१ अर्ब रुपैयाँ बक्यौता भुक्तानी गरेसँगै निगमले इन्धनको मूल्यमा स्वचालित प्रणाली लागू गरेको जनाएको हो ।