काठमाडाैं । लुम्बिनी प्रदेश सरकारले घुम्न जाऔं बर्दिया अभियान सुरु गरेको छ ।
ठाकुर बाबा नगरपालिकाको सहकार्यमा प्रदेश सरकारले प्रदेशकाे महत्वपूर्ण पर्यटकीय गन्तव्य बर्दियालाई लक्षित गरी बिहीबारदेखि साे अभियान सुरु गरेकाे हाे । अभियानकाे लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले उद्घाटन गर्नुभयो ।
बर्दिया राष्ट्रिय निकुञ्ज सँगसँगै जिल्लाकै पर्यटकीय क्षेत्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउने मुख्य उद्देश्यले घुम्न जाऔं बर्दिया अभियान थालिएकाे हाे ।
अभियान शुभारम्भ समाराेहलाई सम्बाेधन गर्दै मुख्यन्त्री आचार्यले प्रदेश सरकारले पर्यटन क्षेत्रको विकासको लागि ध्यान दिएको र त्यसको सुरुआत बर्दियाबाट गरेकाे बताउनुभयो । बर्दिया जिल्लाको ऐतिहासिकस्थल र यहाँ रहेको राष्ट्रिय निकुञ्ज भ्रमणको गन्तव्यस्थल भएकने भन्दै उहाँले लुम्बिनी प्रदेश बासीलाई एक पटक बर्दिया भ्रमण गर्न आह्वान गर्नुभयाे । प्रदेश सरकारले कर्मचारीहरुलाई आन्तरिक पर्यटकीय क्षेत्रको भ्रमणका लागि १० दिनको समय उपलब्ध गराउने गरेको जानकारी दिँदै मुख्यमन्त्री आचार्यले कर्मचारीलाई पनि बर्दिया जिल्लाको भ्रमणका लागि आह्वान गर्नुभयो ।
प्रदेश सरकारको चालु आर्थिक वर्ष २०८१-८२ को स्वीकृत वार्षिक कार्यक्रम नीति तथा कार्यक्रअन्तर्गत साे अभियान सञ्चालन गरिएको हो । प्रदेश सरकारले कृषि, पर्यटन, उद्योग र पूर्वाधार विकासलाई समृद्धिको आधारको रुपमा लिएको छ । जसअन्तर्गत आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्न बर्दिया जिल्लालाई लक्षित गरेर साे अभियान चलाइएको हो । देशका विभिन्न राष्ट्रिय निकुञ्ज भन्दा फरक जैविक विविधता रहेकाे बर्दिया राष्ट्रिय निकुञ्जमा एकै दिनमा बाघ, गैंडा र जंगली हात्तीको बथानका साथ साथै चित्तल जरायो बाह्रसिंगे लगायत विभिन्न प्रकारका चराचुरुंगी अवलोकन गर्न पाइन्छ ।
यसैबीच मुख्यमन्त्री आचार्यले बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा मानव-वन्यजन्तुबीच भएको द्वन्द्वको समस्या बारेमा निकुञ्जका जिम्मेवार पदाधिकारीसँग बिहीबार नै छलफल गर्नुभएकाे थियाे । मुख्यमन्त्री आचार्यले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक वेदकुमार ढकाल, बर्दिया राष्ट्रिय निकुञ्जका बरिष्ठ संरक्षण अधिकृत डा.अशोक कुमार राम लगायतसँग निकुञ्जमै पुगेर छलफल गर्नुभएकाे हाे ।